प्रदेशको नामका विषयमा अब छलफल नै नहुने मुख्यमन्त्री कार्कीको भनाई

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

धनकुटा।  पहिचानसहितको प्रदेशको नामका लागि संशोधनको मागसहित आन्दोलनरत पहिचान पक्षधरले मुख्यमन्त्री कार्यालय अगाडि आज पुत्ला जलाईरहँदा मुख्यमन्त्री हिक्मत कुमार कार्की भने त्यसको विपक्षमा बोलिरहेका थिए । पहिचान पक्षधरको आन्दोलनले मुख्यमन्त्रीको कार्यालय घेराउ गरिरहँदा ओखलढुंगाको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशको नामका विषयमा छलफल समेत नहुने बताएर आन्दोलन पक्षको मागका विपक्षमा बोलेका हुन् ।

ओखलढुंगाको रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी नाम सर्वस्वीकार्य भएकाले यो परिवर्तन नहुने बताए । ‘लामो समय नामविहीन प्रदेशमा म मुख्मन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले ‘कोशी’ नाम पारित गरेको हो’ उनले भने, ‘नाम संशोधनका विषयमा छलफलसमेत हुँदैन ।’

‘कोसी सबैको सभ्यता र पहिचान भएको दावी गर्दै उनले मानव जीवनसँग पनि जोडिएको नाम सबैले स्वीकार गरेको जिकिर गरे । ‘९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको नाम अब परिवर्तन होइन, नामकै विषयमा कुनै छलफलसमेत हुँदैन’ उनले भने, ‘हिजो नाम भएन भन्नेहरू नाम मन परेन भनेर आन्दोलन गर्नु जायज हैन ।’

प्रदेशको नाम संशोधन गर्न आन्दोलन गर्नेहरूले जिताएर पठाएकै सांसदहरूले कोशी नामकरण गरेको मुख्यमन्त्री कार्कीले बताए । सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको उनको भनाइ थियो । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि मुख्यमन्त्री कार्की ओखलढुंगा आएका हुन् ।

प्रदेशको नाम कोशी राखेको भन्दै पहिचानपक्षधरहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले प्रदेशको नाम पहिचानसँग जोडिएको हुनुपर्ने माग राखेका छन् ।

आइतबार पनि विराटनगरमा विशाल प्रदर्शन भएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले उक्त प्रदर्शन रोक्न निषेधाज्ञा समेत जारी गरेको थियो। तर उक्त निषेधाज्ञा तोडेर उनीहरूले प्रदर्शन गरे । जसकारण ढुंगामुढा भएको थियो भने प्रहरीले पनि अश्रु ग्यास प्रहार गरेको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया