सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग, तत्काल उपस्थित हुन नसक्ने लामिछानेको भनाइ

खगेन्द्र कार्की

संसद्मा नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे स्पष्ट पार्न विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन्। तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्काल प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मै आएर सीमा सम्बन्धी अभिव्यक्तिबारे जवाफ दिनुपर्ने अडान राखेका थिए। यसअघि प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतका धेरै ठाउँ मिचेको अभिव्यक्ति दिएका थिए। सोही विषयमा विपक्षी दलहरूले प्रधानमन्त्रीकै स्पष्टीकरण माग गरेका हुन्।

बैठकमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार लामिछानेले यस विषयमा रास्वपाभित्र छलफल हुने र संसद्मा परराष्ट्रमन्त्रीले जवाफ दिने जानकारी दिएका थिए।

महरले लामिछानेको भनाइ उद्धृत गर्दै भने, “सदनमा परराष्ट्रमन्त्रीजीले जवाफ दिनुहुन्छ। परराष्ट्रमन्त्रीले जवाफ दिएपछि आवश्यकता पर्‍यो भने मैले पनि जवाफ दिन्छु। तर अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न।”

यद्यपि विपक्षी दलहरूले प्रधानमन्त्रीकै अभिव्यक्ति भएकाले जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्ने अडान दोहोर्‍याएका छन्। महरले सीमा सम्बन्धी विषय अत्यन्त गम्भीर र राष्ट्रिय सरोकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसद्मा आएर स्पष्ट पार्नुपर्ने बताए।

उनले भने, “यो असाध्यै सिरियस विषय हो। प्रधानमन्त्रीले संसद्मा आएर नै जवाफ दिनुपर्छ र स्पष्ट पार्नुपर्छ।”

महरका अनुसार प्रधानमन्त्रीको नियत त्यस्तो नभए पनि सार्वभौम देशको प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट अर्को देशको भूमि मिचेको अभिव्यक्ति दिनु संवेदनशील विषय हो। उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनसमेत माग गरेका छन्।

खगेन्द्र कार्की
प्रतिक्रिया