काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, खोज तथा राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी दिँदै उनले बेपत्ताको खोजी र घाइतेको उपचारलाई तीव्र पारिएको बताएका हुन् ।प्रधानमन्त्री शाहले बुधबार साँझ देशवासीका नाममा अपिल गर्दै बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।उनका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित राज्यका सम्पूर्ण संयन्त्र उद्धार तथा खोजीमा परिचालन गरेको छ । सुरक्षाकर्मीले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० नागरिकको उद्धार गरिसकेको र उद्धार गरिएकामध्ये घाइतेलाई तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्रीले बताएका छन् ।रातभर उद्धार जारी रहनेप्रधानमन्त्री शाहले अहिलेको अवस्था अत्यन्त संवेदनशील रहेको भन्दै घाइतेको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्ने कामलाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताएका छन् ।उनले आज रातभर पनि उद्धार तथा खोजी कार्य जारी रहने जानकारी दिएका छन् । बाढीमा हराइरहेका नागरिकको खोजीलाई थप तीव्र पारिने तथा घाइतेहरूको विस्तृत विवरण र बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गरिने उनले बताएका छन् ।बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएको प्रधानमन्त्री शाहले बताएका छन् ।ती क्षेत्रका पीडित परिवारसम्म तत्काल खानेकुरा, सफा खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था पुर्याइने सरकारको तयारी छ ।वीर र ट्रमा सेन्टरमा १०० शय्या छुट्याइयोबाढी प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले बताएका छन् ।उपत्यकाका अन्य ठूला अस्पताललाई समेत जुनसुकै बेला घाइतेको उपचार गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन् । प्रभावित क्षेत्रमा मेडिकल टिम परिचालन गरी घाइतेको उद्धार र प्राथमिक उपचार भइरहेको छ ।राष्ट्रिय ट्रमा सेन्टर तथा विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको छ । नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनलगायतका निकायबाट समेत चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री पठाइएको प्रधानमन्त्रीले बताएका छन् ।आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटसँग निरन्तर समन्वय भइरहेको छ ।सडक, पुल र विद्युत् पुनर्निर्माण गर्ने प्रतिबद्धताप्रधानमन्त्री शाहले बाढीका कारण भत्किएका सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनालाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् ।बाढीका कारण विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने र प्रभावित नागरिकको उद्धार, उपचार, खानपान तथा बसोबासको जिम्मेवारी सरकारले लिने उनले बताएका छन् ।बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरी स्थानीय तहमा आवश्यक सहयोग पहिचान र सहजीकरण भइरहेको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन् ।राहतमा हातेमालो गर्न अपिलप्रधानमन्त्री शाहले विपद्को समयमा सरकार एक्लैले मात्र नभई सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन् ।“यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,” भन्दै प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गरेका छन् । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ पीडित नागरिकको साथमा रहेको उनको भनाइ छ ।उनले भोटेकोशी बाढीबाट पीडित नागरिकलाई पुनः सामान्य जीवनमा फर्काउन सरकार निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१० भदौ २०८३, बुधबार ०८:२१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो