काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान युवा नेतृत्व असफल भए ‘युवाले देश चलाउन सक्दैनन्’ भन्ने गलत भाष्य स्थापित भई भावी पुस्ताका लागि राजनीति र नेतृत्वको ढोका बन्द हुने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले वर्तमान युवा पुस्तामाथि परिवर्तनलाई परिणाममा बदल्ने ठूलो जिम्मेवारी रहेको बताए।
‘हामीले यो प्रमाणित गरेर देखाउनुपर्नेछ कि युवाले चाहँदा परिवर्तन सम्भव छ,’ उनले भने, ‘यदि हामीले यो युवा नेतृत्वलाई परिणाममा बदल्न सकेनौं भने परिपक्व र अनुभवी नै चाहिन्छ भन्ने भाष्य सिर्जना गरिनेछ। त्यसैले यो युवा नेतृत्व कुनै पनि हालतमा सफल हुनैपर्छ।’
लामिछानेले रास्वपालाई केवल वैकल्पिक शक्तिका रूपमा नहेर्न आग्रह गर्दै पार्टी ‘निर्विकल्प शक्ति’ बन्न आएको दाबी गरे। उनका अनुसार जनताको कुरा सुन्न छाडेपछि मात्रै विकल्प खोजिने भएकाले रास्वपाले सही बाटोमा रहेर जिम्मेवारी पूरा गर्नुपर्नेछ।
सरकारको पछिल्लो चार–पाँच महिनाको कामप्रति भइरहेको आलोचनाको जवाफ दिँदै उनले सरकारले आगामी १५ देखि २० वर्षका लागि बलियो आधार तयार गरिरहेको बताए। घर निर्माणका क्रममा जग खन्दा धुलो र हल्ला भएजस्तै अहिलेको कामको परिणाम तत्काल नदेखिएको उनको भनाइ थियो।
उनले सरकारले पुराना राजनीतिक नियुक्ति खारेज गर्दै खुला प्रतिस्पर्धा र योग्यताका आधारमा अवसर दिने व्यवस्था अघि बढाएको दाबी गरे। नातावाद र कृपावाद अन्त्य गरी क्षमताका आधारमा नेपाली नागरिकले देशसेवाको अवसर पाउने उनको भनाइ थियो।
लामिछानेले राजनीतिक नेतृत्वमा पुगेपछि युवाहरूले पुरानो पुस्तालाई दोष दिएर उम्कने अवस्था नरहेको पनि बताए। संसद् र सरकारमा युवाको उल्लेख्य उपस्थिति रहेकाले अब परिणाम दिने जिम्मेवारी पनि युवाकै काँधमा आएको उनले उल्लेख गरे।
उनले वर्तमान पुस्तामा तत्काल परिणाम खोज्ने प्रवृत्ति बढ्दै गएको भन्दै परिवर्तन र विकास रातारात सम्भव नहुने बताए। इमानदार प्रयास र समयबाट मात्रै दिगो परिवर्तन सम्भव हुने उनको भनाइ थियो।
युवा तथा महिला नेतृत्वले निजी क्षेत्रमा उत्कृष्ट परिणाम दिइरहेको उदाहरण दिँदै लामिछानेले राजनीतिमा पनि युवा र महिलाको नेतृत्वले उत्कृष्ट नतिजा दिन सक्ने प्रमाणित गर्नुपर्ने बताए।
उनले अन्तर्राष्ट्रिय युवा दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी देशमै रोजगारी सिर्जना गर्ने, युवा पलायन रोक्ने र उपलब्धिलाई परिणाममा बदल्ने सङ्कल्पको दिन बनाउनुपर्नेमा जोड दिए।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो