मर्यादित राजनीति अमर्यादित बन्दै

खगेन्द्र कार्की

राजनीति चेतनाको ज्योति हो । राजनीतिबाटै धेरै कुराको ज्ञान आर्जन हुने र राज्य सञ्चालन हुने गर्दछ । राजनीति समाजको मार्गनिर्देशक शक्ति हो । यसले जनताको चेतना, व्यवहार र भविष्यलाई दिशा दिन्छ । त्यसैले राजनीतिमा विचार, अभिव्यक्ति र व्यवहार सबै मर्यादित हुनु अनिवार्य हुन्छ । लोकतान्त्रिक व्यवस्थामा घोपेच, व्यङ्ग्य र ठट्टा राजनीतिका स्वाभाविक अंग हुन् । यिनले बहसलाई जीवन्त बनाउँछन, शक्ति सन्तुलनमा राख्छन् र सत्तालाई जवाफदेही बनाउँछन् । तर यी सबै कुरा मर्यादाभित्र रहेर प्रयोग गरिनुपर्छ । पछिल्ला वर्षहरूमा भने राजनीतिमा मर्यादाको यो लक्ष्मण रेखा नाघ्न होडबाजीनै चलेको देखिन्छ ।

राजनीतिमा श्रेष्ठता हाँसिल गर्न आफ्नो बखान गर्नु, आफ्ना नीति र कार्यक्रमबारे जानकारी दिनु, आफू सही र योग्य भएको दाबी गर्नु स्वभाविक हो । तर अचेल यति मात्रले राजनीतिज्ञको परिचय स्थापित नहुने अवस्था आएको छ । बरु अर्काको मानमर्दन गर्ने, व्यक्तिगत जीवन खोतल्ने, शारीरिक बनावट वा स्वास्थ्य अवस्थालाई लिएर अमर्यादित टिप्पणी गर्ने, होच्याउने र अपमानित गर्ने प्रवृती बढ्दै गएको छ । यस्ता अभिव्यक्तिहरू न त वैचारिक रूपमा बलिया हतियार हुन् न त लोकतन्त्रलाई बलियो बनाउने अभ्यासनै । बरु यिनले राजनीतिलाई तुच्छ र घृणित बनाउने काम गर्छन् ।

चिन्ताको विषय के हो भने, घृणित अभिव्यक्ति अर्थात ‘हेट् स्पिच’ केवल भाषण र लेखमा सीमित छैनन् । सञ्चार माध्यम र सामाजिक सञ्जालको दुरुपयोग गरेर समेत यस्ता तुच्छ विचारहरू तीव्र रूपमा फैलाइँदैछन् । सामाजिक सञ्जालमा असत्य, अपमान र घृणालाई सामान्य बहसजस्तै प्रस्तुत गरिन्छ । यसले समाजमा तुच्छता र छुद्रता विस्तार गर्छ, सामाजिक सद्भाव विथोल्छ र नागरिकहरूबीच अविश्वासको खाडल गहिरो बनाउँछ । त्यसो त, राजनीति प्रतिस्पर्धाको मैदान हो, तर यो शत्रुता विकास र विस्तारको अखडा होइन । विचार र नीतिमा असहमति हुनु स्वाभाविक हो । तर असहमतिको अभिव्यक्ति सभ्य, तथ्यमा आधारित र मर्यादित हुनुपर्छ । त्यसैले घृणा र अपमान फैलाउने अभिव्यक्तिहरूलाई पहिलो चरणमा सम्बन्धित व्यक्तिहरूले नै स्वविवेक प्रयोग गरेर नियन्त्रण गर्नु जरुरी छ । आत्मसंयम, नैतिकता र राजनीतिक संस्कार बिना लोकतन्त्र स्वस्थ रहन सक्दैन ।

निर्वाचनको संघारमा यस्तो चुनौती झन् गम्भीर हुन्छ । आवश्यक परे निर्वाचन आयोग, प्रेस काउन्सिल तथा अन्य नियमनकारी निकायहरू सक्रिय भएर घृणा र तुच्छता फैलाउने गतिविधि नियन्त्रण गर्नुपर्छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा समाजलाई विभाजन गर्ने छुट कसैलाई दिनु हुँदैन । मर्यादित राजनीति नै सामाजिक सद्भाव, एकता र भाइचारालाई अक्षुण्ण राख्ने आधार हो ।

खगेन्द्र कार्की
प्रतिक्रिया