काठमाडौं । बिहीबार राति बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा पर्यो । पुर्चौडी नगरपालिका– ७ को भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार राति पवनदूत यतायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते छन् ।
घाइतेमध्ये पाँच जना गम्भीर अवस्थामा रहेकाको धनगढीमा उपचार भइरहेको छ भने २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । यस्तै चार जना सामान्य घाइतेको भने बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । बस चालक वीरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना बैतडी–बझाङ सडकखण्डको ढोल्यामोडदेखि पुर्चौडी गाउँपालिका जोड्ने भित्री सडकमा भएको बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । ‘उकालोमा रहेको मोडमा मोड नपुगेपछि चालकले ब्याक गरेका रहेछन्’, सीडीओ थापाले भने, ‘ब्याक गर्दा ब्रेक नलागेपछि बस भिरालोमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
दुर्घटनापछि सुदूरपश्चिममा सरकारको खोजी भएको छ । बिहीबार बेलुका ७स्५५ बजे बस दुर्घटनाको खबर प्रहरीले पाएको थियो । दुर्घटनाको चार घण्टापछि मात्रै घाइतेलाई अस्पताल पुर्याउन सकिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । घाइतेको उद्दारमा हेलिकोप्टरको सहायता लिन चौतर्फी माग भएको थियो । तर, सरकारले उद्दार र उपचारमा ध्यान नदिएको भन्दै सरकारको आलोचना भएको छ । ‘राज्यको नजरमा ज्यानको पनि वर्गीकरण हुँदो रहेछ’, पत्रकार शेरबहादुर ऐरले भनेका छन्, ‘बालेन शाहका प्रचारक अछाममा घाइते हुँदा तत्काल हेलिकोप्टर पुग्ने, तर बैतडीमा ५० जना नेपाली रगताम्मे भएर छटपटाउँदा राज्यको हेलिकोप्टर कुन ओडारमा लुकेको छ रु के सुदूरपश्चिमका नागरिकको रगतको मूल्य काठमाडौंको चर्चाभन्दा सस्तो छ रु विभेदको पनि सीमा हुन्छ नि सरकार ।’
सामाजिक सञ्जालमै लोग्सरी कुँवरले पनि सरकारको भूमिकाको आलोचना गरेकी छिन् । ‘सुदूर अब दूर नाई भन्नेको सरकारले हिजो बैतडीमा भएको दुर्घटनालाई कताबाट हेरेछ,’ उनले भनेकी छिन्, ‘घाइतेको उद्धार, उपचारमा समस्या हुँदा एउटा नाइट भिजन पठाएर उद्धार गर्न कसले रोक्यो रु सुदूरलाई हेर्ने राज्यसत्ताको दृष्टि कहिले फेरिएला ?’
यता, प्रमुख जिल्ला अधिकारी थापा भने आवश्यकता परे अब हेलिकोप्टरबाट घाइतेलाई उपचारका लागि अन्यत्र पठाइने बताउँछन् । प्रहरीका अनुसार बिहीबार भएको दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य ७ जनाको उपचारका क्रममा र अस्पताल लैजाने क्रममा ज्यान गएको थियो ।
यी हुन् १३ मृतक
दुर्घटनामा बझाङको बित्थडचीर गाउँपालिका– ७ का बिसनदत्त जोशी, सोही ठाउँका २८ वर्षीय दीपकदत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी– ७ का १४ वर्षका सुशील जोशी र बझाङको केदारस्यूका २६ वर्षका केशवराज भट्टको मृत्यु भएको छ । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका– ७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका– ७ का ४० वर्षीया पुष्पा अवस्थीको मृत्यु भएको छ ।
जन्तीको बोकेको बसमा दुलहा र दुलही दुवैपक्षका थिए । दुलहा र दुलही भने अर्को गाडीमा सवार थिए ।
दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुस्ख व्यक्त गर्दै पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो