प्रतिस्पर्धाबाट प्रतिशोधसम्म : सर्लाहीको सब–इन्जिनियर हत्या

खगेन्द्र कार्की

इटहरी । समाजमा जब सफलता र अवसर प्रतिस्पर्धाको भन्दा पनि ईर्ष्या र लोभको कारण बन्न थाल्छ, तब अपराधको बीउ उम्रिन्छ। सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या प्रकरण त्यसैको प्रतिविम्ब हो—एक शिक्षित, प्राविधिक युवाको प्राण लोभ र स्वार्थको चक्रव्यूहमा समाप्त भयो।

२०८२ फागुन ३ गते राति करिब आठ बजे सर्लाहीको मलंगवामा घटेको यो घटना केवल व्यक्तिगत वैमनस्य होइन, समाजमा फैलँदै गएको नैतिक पतन र हिंसाको गहिरो संकेत हो। जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत यादवलाई फोन गरेर बाहिर बोलाइ गोली प्रहार गरिनु, अपराधको योजनाबद्ध रूप देखाउँछ। चिकित्सकले उनको मृत्यु छातीमा लागेको गोलीका कारण भएको पुष्टि गरे।

लोभले जन्माएको अपराध

अनुसन्धानले देखाएको सन्देश भयावह छ—हत्या कसैले जागिर पाउन नसकेर गरेको हो। महोत्तरीका गणेश कुमार महतो, जो मधेश प्रदेश लोक सेवा आयोगको सब–इन्जिनियर पदका वैकल्पिक उम्मेदवार थिए, उनले आफ्नो नियुक्ति पक्का गर्न प्रमोद यादवको हत्या योजना बुने।

लोकसेवाजस्तो पारदर्शी मानिएको व्यवस्थामा स्थायी जागिरको लोभले हत्या गर्नेलाई प्रेरित गर्नु, समाजमा शिक्षा र रोजगारीप्रतिको दृष्टिकोण कति विकृत हुँदै गएको छ भन्ने प्रमाण हो।

महतोले आफ्ना नातेदारहरू चन्द्रकिशोर सिंह कुशवाहा र विजय कुमार महतोलाई प्रयोग गरी ८० हजार रुपैयाँमा हतियार खरिद गरेको खुलेको छ। उनीहरूले मोबाइल कलमार्फत यादवलाई बाहिर बोलाए र गोली प्रहार गरी फरार भए।

हिंसा र असामाजिकता

यो घटना केवल एक कर्मचारीको हत्या होइन, शिक्षित युवाबीचको असहिष्णुता, प्रतिस्पर्धामा अस्वस्थ मानसिकता र नैतिक शून्यताको द्योतक हो। पढेलेखेकाहरू जब समाधान होइन, हिंसा रोज्छन्, तब समाजका सबै मूल्य र आचारहरू ध्वस्त हुन्छन्।

हामीले बुझ्न जरुरी छ—हत्या केवल एक व्यक्तिको मृत्यु होइन, एउटा मूल्यको हत्या हो। सामाजिक संरचना जसले मेरिट र परिश्रमलाई पुरस्कृत गर्नुपर्ने हो, त्यसले जब भ्रष्टाचार, सिफारिस र स्वार्थलाई बढावा दिन थाल्छ, तब यस्तो अपराध अनिवार्य जस्तै देखिन्छ।

कानुनी र सामाजिक सन्देश

प्रहरीले तीनै अभियुक्तलाई पक्राउ गरी मुलुकी अपराध संहिता अनुसार कर्तव्य ज्यान र हातहतियार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ। तर कानुनी सजाय मात्र पर्याप्त छैन। समाजले पनि आत्मपरीक्षण गर्नुपर्छ—किन एक जागिरका लागि हत्या गर्ने मानसिकता जन्मियोरु

आज शिक्षाको अर्थ प्रमाणपत्र र पदमा सिमित भएको छस नैतिकता, सहअस्तित्व र संवेदनशीलता हराउँदै गएका छन्। राज्यले युवाहरूको रोजगारीमा पारदर्शिता र निष्पक्षता सुनिश्चित नगरेसम्म, र समाजले नैतिक मूल्यहरूलाई जीवनको केन्द्रमा राख्दासम्म, यस्तो ूसामाजिक हत्याू दोहोरिनेतर छैन।

सर्लाहीको प्रमोद यादव हत्या—हिंसाको एउटा घटना मात्र होइन, हाम्रो सामूहिक असफलताको प्रतिबिम्ब हो। अब प्रश्न उठ्छ, अर्को प्रमोद बचाउन हामीले के सिक्यौंरु

खगेन्द्र कार्की
प्रतिक्रिया