सांसदको पहिरन र आचरणमा कडाइ गर्न सभामुखको आग्रह

खगेन्द्र कार्की

प्रतिनिधिसभाको कार्यसम्पादन समितिको बैठकमा सांसदहरूको ड्रेस कोड, कालो चस्मा प्रयोग र संसदीय आचरणबारे छलफल भएको छ। सभामुख डिपी (डोलप्रसाद) अर्यालले संसद् बैठकमा कालो चस्मा लगाएर नआउन सांसदहरूलाई आग्रह गरेका छन् भने अधिकांश दलका प्रमुख सचेतक र सचेतकहरूले संसद्को गरिमा कायम राख्न ड्रेस कोड र आचरणमा कडाइ आवश्यक रहेको धारणा राखेका छन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सांसदहरू जिन्स पाइन्ट, चप्पललगायत अनौपचारिक पोशाकमा संसद् बैठकमा उपस्थित हुन थालेको उल्लेख गर्दै सभामुखले नै स्पष्ट ड्रेस कोड लागू गर्न र त्यसको पालना गराउन रुलिङ गर्नुपर्ने प्रस्ताव राखे। संसद् मुलुकको सर्वोच्च विधायिकी संस्था भएकाले सांसदको पहिरन, प्रस्तुतिको शैली र आचरण पनि संसदीय मूल्य–मान्यता अनुरूप हुनुपर्ने उनको भनाइ थियो।

बुर्लाकोटीको प्रस्तावपछि सभामुख अर्यालले संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित हुने अभ्यास पनि अन्त्य गर्नुपर्ने धारणा राखेका थिए। उनका अनुसार सांसदहरूले संसद्को लोगो अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ र विशेष स्वास्थ्य समस्या नभएसम्म कालो चस्मा लगाएर बैठकमा उपस्थित हुनु उपयुक्त हुँदैन। बैठकमा सहभागी अधिकांश दलका प्रमुख सचेतक र सचेतकहरूले सभामुखको प्रस्तावमा समर्थन जनाएका थिए।

तर नेपाली कांग्रेसकी सचेतक बासना थापाले भने कालो चस्मामाथि प्रतिबन्ध लगाउने प्रस्तावप्रति फरक धारणा राखिन्। उनी बैठकमै कालो चस्मा लगाएर सहभागी भएकी थिइन्। थापाले आफूलाई चस्मा नलगाई संसद् बैठकमा जान कुनै आपत्ति नभए पनि नियम सांसदहरूबाट मात्रै होइन, प्रधानमन्त्री र मन्त्रीहरूबाट पनि समान रूपमा लागू हुनुपर्ने बताइन्।

उनले संसद् सदस्य भएका प्रधानमन्त्री र मन्त्रीहरू पनि समान नियमको दायरामा पर्नुपर्ने उल्लेख गर्दै नियमको कार्यान्वयन माथिल्लो तहबाट सुरु भए त्यसको सकारात्मक सन्देश जाने धारणा व्यक्त गरिन्। समाजले सांसदलाई अनुकरण गर्ने भएकाले उनीहरूको व्यवहार, पहिरन र प्रस्तुतिमा मर्यादा आवश्यक भए पनि नियम सबैका लागि समान हुनुपर्ने उनको जोड थियो।

सभामुख अर्यालले नियम सबै सांसद र सरकारका सदस्यका लागि समान हुने प्रतिक्रिया दिए। यद्यपि प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि कालो चस्मा प्रयोगमा स्पष्ट बन्देज लगाइने वा नलगाइने विषयमा भने बैठकमा कुनै ठोस निर्णय भएको छैन।

पछिल्लो समय संसद्मा सांसदहरूको पहिरन र प्रस्तुतिलाई लिएर सार्वजनिक रूपमा पनि प्रश्न उठ्न थालेका छन्। संसदीय अभ्यासअनुसार संसद् बैठकमा औपचारिक पोशाक, मर्यादित व्यवहार र निर्धारित आचारसंहिताको पालना गर्नुपर्ने मान्यता रहे पनि केही सांसदहरू जिन्स पाइन्ट, चप्पल तथा अनौपचारिक पहिरनमा बैठकमा उपस्थित हुने क्रम बढेको भन्दै समितिमा चिन्ता व्यक्त गरिएको हो।

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय उपस्थितिलाई पनि बैठकमा अप्रत्यक्ष रूपमा जोडिएको थियो। प्रधानमन्त्री शाह अहिलेसम्म चारपटक प्रतिनिधिसभा बैठकमा सहभागी हुँदा प्रत्येक पटक कालो चस्मा र अनौपचारिक पहिरनमै उपस्थित भएका छन्। उनी मन्त्रिपरिषद्को बैठकमा समेत यस्तै शैलीमा सहभागी हुने गरेका छन्।

संसद् लोकतान्त्रिक अभ्यास, विधि र संस्थागत मर्यादाको प्रतीक भएकाले सांसदहरूको पहिरन, व्यवहार र प्रस्तुतिमा एकरूपता आवश्यक रहेको धारणा बैठकमा सहभागी अधिकांश सदस्यले राखेका छन्। अब ड्रेस कोड, संसद्को लोगो प्रयोग तथा कालो चस्मासम्बन्धी विषयमा सभामुखले औपचारिक निर्देशन वा नयाँ व्यवस्था ल्याउने विषयमा भने आगामी बैठकमा थप निर्णय हुन सक्ने जनाइएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया