इटहरी । फागुन कृष्ण चतुर्दशीका अवसरमा आइतबार देशभर महाशिवरात्रि श्रद्धा र भक्तिभावका साथ मनाइएको छ । बिहानैदेखि नै देशका प्रमुख शिव–शक्ति पीठहरूमा पूजाअर्चना र दर्शन गर्ने भक्तजनको घुइँचो लाग्यो ।
पूर्वी नेपाल सुनसरी, मोरङ र झापासहित कोशी प्रदेशका विभिन्न स्थानमा रहेका शिवशक्ति पिठ सुप्रसिद्ध तीर्थस्थलहरू हलेसी महादेव, बराह क्षेत्र, पाथीभरा देवी मन्दिर, देविकोठी धाममा बिहानदेखि बेलुकीसम्म भक्तजनको घुइँचो लागेको थियो । तीर्थयात्रीहरूले जल, दूध, धतुरो र बेलपत्र अर्पण गर्दै भगवान शिवको आराधना गरे । कतिपय भक्तजनले रात्रिभर जाग्राम बसेर भजन–कीर्तन र ध्यानमा समय बिताए ।
हलेसी क्षेत्रमा देशका विभिन्न भागबाट आएका भक्तजनले हलेसी महादेवको दर्शन गरी पूजा गरेका थिए। त्यस्तै, सुनसरीस्थित बराह क्षेत्र र झापाको देविकोठीमा पनि भक्तजनको उल्लेख्य भीड देखियो । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो भने सरसफाइ र यातायात व्यवस्थापनमा सहयोग गर्न स्वयंसेवक सक्रिय थिए।
काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पनि विहानैदेखि लाखौं श्रद्धालुहरूको आगमन भएको थियो। नेपालका साथै भारत, भूटान र बङ्गलादेशबाट आएका साधु–सन्तले पशुपतिको दर्शन गरे ।
महाशिवरात्रिलाई आत्मसंयम, साधना र भक्ति भावनाको पर्वका रूपमा लिइन्छ । यस अवसरमा भगवान शिवको कृपा प्राप्त हुने विश्वास गरिन्छ । पूर्वदेखि पश्चिमसम्मका मन्दिरहरूमा पूजाअर्चना, जाग्राम र भजनकीर्तनले वातावरण आध्यात्मिक बनेको थियो । धार्मिक आस्थासँगै सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा यस वर्षको महाशिवरात्रि उल्लासपूर्वक सम्पन्न भएको छ ।
शिवरात्री तथा सेना स्थापना दिवस
यसैबीच, नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो