रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा बुधबार राति गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ। घटनास्थलमा पाँच जनाको शव फेला परेको छ भने बाढीले बगाएर प्युठान पुर्याएका थप पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
पहिरोमा परी तीन जना अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५ वर्षीय बालकदेखि ८५ वर्षीय वृद्धसम्म रहेका छन्।
बुधबार राति गाउँको सिरानबाट एक्कासि लेदोसहितको पहिरो खस्दा कोटलबाराका नौ घर, एउटा घुम्ती पसल, दुई गोठ र एउटा चर्च पुरिएका छन्। पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको प्रहरीले जनाएको छ।
घटनास्थलमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको शव फेला परेको छ।
त्यसैगरी रोल्पाको लुंग्री खोला र प्युठानको माडी नदीका विभिन्न स्थानमा बाढीले बगाएर लगिएका पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
प्युठानमा भेटिएका शवमा ३८ वर्षीया जुन कुमारी पुन मगर (विष्णु पुन), ५ वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन्।
पहिरोबाट भागेर ज्यान जोगाएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको छ।
पहिरोबाट जोगिएका हिमाल र सञ्जयले नै राति प्रहरीको १०० नम्बरमा फोन गरी घटनाबारे जानकारी गराएका थिए। घटनापछि प्रहरी तथा स्थानीयको सहयोगमा बेपत्ताको खोजी र उद्धार कार्य भइरहेको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो