इटहरी । उत्तरी रसुवाको भोटेकोशी नदीमा बहाव बढेपछि अपनाइएको सतर्कता तत्काललाई हटेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा अहिले ठूलो बाढीको जोखिम नरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त पछिल्लो विवरणअनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि अवस्था सामान्य रहेको छ। महाशाखाले बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै नदीको अवस्था सामान्यतर्फ फर्किएको स्पष्ट पारेको हो।
यसअघि बिहान भोटेकोशी नदीमा ठूलो आवाजसहित बाढी आएको सूचना प्राप्त भएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो। अहिले जोखिम घटे पनि जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले नदीको जलसतह निरन्तर अनुगमन गरिरहेका छन्।
यसैबीच, बाढी–पहिरोको सम्भावित जोखिमका कारण रोकिएको नारायणगढ–मुग्लिन तथा मुग्लिन–पोखरा र काठमाडौँतर्फको सडक आवागमन पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौँ जाने तथा आउने सबै प्रकारका सवारीसाधनको आवागमन सुचारु भएको छ।
राजमार्ग खुले पनि जोखिमयुक्त स्थानमा सावधानी अपनाउन, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्राका क्रममा सुरक्षालाई प्राथमिकता दिन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
१४ भदौ २०८३, अाईतबार ०८:२५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो