आज नेपालको राजनीतिक इतिहासका लागि एक अविस्मरणीय दिन, प्रजातन्त्र दिवस । २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यहि दिनको जगमा त्यस पछि समेत विभिन्न परिवर्तनकारी आन्दोलनहरु समेत हुँदै आएका छन् । पञ्चायती व्यवस्थाको घोषणासँगै निमोठिएको प्रजातान्त्रिक अधिकार पुनः २०४६ चैत २६ गते पुनस्र्थापना भएको थियो । त्यस पछि समेत समता र उन्नत स्वतन्त्रताको लागि भन्दै देशमा सशष्त्रयुद्ध चल्यो । त्यस पश्चात पुनः २०६२÷६३ को जनआन्दोलन भयो र फेरि २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।
यहि फागुन ७ ले दिएको मार्गनिर्देश र नागरिकमा खुलाएको स्वतन्त्रताको क्षितिजलाई फराकिलो बनाउँदै २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ । यस्तै दोस्रो संविधानसभाले वि.सं २०७२ असोज ३ गते संविधान जारी गरेसँगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै आएको छ ।
२००७ सालको परिवर्तनका लागि शहीदलहरुले देखाएको बाटो, गरेको बलिदानी र अन्य राजनीतिक अगुवाहरुले गरेको संघर्षबाट उपलब्धि केवल शासन परिवर्तन मात्र नभई आधुनिक नेपालको निर्माणतर्फको प्रारम्भिक पाइला पनि थियो । तर प्रजातन्त्र स्थापना भएपछि राजनीतिक दलहरूले राष्टिूय लक्ष्य र नागरिक अपेक्षाभन्दा पनि आफ्नै स्वार्थ र शक्ति संघर्षलाई प्राथमिकता दिँदै आए । परिणामस्वरूप देशले स्थिर राजनीतिक वातावरण पाउन सकेन र विभिन्न समयका आन्दोलनहरूले प्रणालीलाई बलियो बनाउनुको साटो अस्थिरता बढाउँदै लग्यो । हुन त नागरिक आन्दोलनहरू परिवर्तनका माध्यम अवश्य हुन्, तर तिनले नागरिकको दैनिक जीवनमा अपेक्षित सुधार ल्याउन नसक्नुनै नागरिकमा निराशा वृद्धीको विउ पनि हो ।
आजको आवश्यकता भनेको निरन्तर आन्दोलनको चक्रमा अल्झि रहनु होइन, बरु विगतमा प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै संस्थाहरूलाई बलियो बनाउनु हो । लोकतन्त्रको वास्तविक अर्थ राजनीतिक अधिकारसँगै आर्थिक अवसर, सामाजिक न्याय र स्थिर विकासमा देखिनुपर्छ । जब नागरिकको जीवनस्तर सुधार हुन्छ, तब लोकतन्त्रप्रतिको विश्वास पनि स्वतः बलियो हुन्छ । त्यसैले अबको राजनीतिक प्राथमिकता अधिकारको विस्तारभन्दा पनि रोजगारी सिर्जना, उत्पादन वृद्धि, पूर्वाधार विकास र सुशासनमा केन्द्रित हुनुपर्छ । समृद्धि र आर्थिक विकासलाई राष्टिूय लक्ष्य बनाएर अघि बढ्दा मात्र प्रजातन्त्रको उपलब्धि अर्थपूर्ण बन्न सक्छ । विगतका संघर्षले दिएको स्वतन्त्रता र अधिकारको रक्षा गर्दै देशलाई आर्थिक रूपमा सुदृढ बनाउने दिशामा सबै राजनीतिक शक्ति र नागरिक एकजुट हुनु आजको प्रमुख आवश्यकता हो । फेरि पनि नागरिकलाई अधिकार प्राप्तिको आन्दोलन भनेर झुलाई रहनु फेरि पनि देशमा आर्थिक समृद्धीको यात्रालाई अवरुद्ध पारिनु हो । त्यसैले अबको संघर्ष तथा लक्ष्य प्राप्त उपलव्धीहरुको संरक्षणसँगै समृद्धी तर्फ अघि बढ्नुनै रहेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो