क्रसर व्यवसायीले सञ्चालन गर्ने टिपर दिउँसो सञ्चालनमा रोक लगाउनुपर्छ भन्ने आवाज उठेको धेरै भईसकेको छ । तर कसैले टिपरको जोखिम घटाउने र मानविय क्षति हुन नदिनेतर्फ ध्यान दिन सकिरहेका छैनन । अधिकांश पालिकामा सञ्चालन हुने टिपर व्यवसायी स्वयं पालिकाका जनप्रतिनिधि नै भएको कारणले पनि यसरी टिपरलाई लगाम विनाको घोडा बनाएर नियन्त्रणबाहिर छोडिएको गुनासो बढ्दै गर्दा फेरी मोरङको बेलबारीमा टिपरले बस र बोलेरोलाई ठक्कर दिँदा घाइते भएकाहरुको अस्पतालको शैयामा मृत्यु भईरहेको छ । सो दुर्घटनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । मोरङको बेलबारी नगरपालिका १ र ३ को सिमानामा शुक्रबार बिहान भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
सो दुर्घटनामा परेर उपचारार्थ झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका ४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको न्यूरो अस्पतालमा मृत्यु भएको हो । गजुरेल बोलेरो चालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने खनाल र भट्टराई बोलेरमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका कमल गाउँपालिका ४ का ४६ वर्षीय हरि खनाल र कमल २ की ४८ वर्षीया गायत्री भट्टराईको न्यूरो अस्पतालमै उपचार भइरहेको एसपी कार्कीले बताए ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ । त्यसपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको थियो ।
मानविय क्षतिसँगै दुर्घटनामा परेर बोलेरो जिपपूर्णरूपले क्षतिग्रस्त बनेको छ भने टिपरको अगाडिको भागमा पूर्णरूपले क्षति पुगेको जानकारी प्रहरीले दिएको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको छ । बसमा सवार सबै जना र टिपर चालक सकुशल रहेको प्रहरीको भनाइ छ । दुर्घटना स्थलमै रहेका सवारीसाधनलाई प्रहरीले जेसीबीको सहायता लिएर सडकबाट हटाएको थियो ।
प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस चालक सुन्दरहरैँचा १२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो