काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढी भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी प्रणालीसम्म फैलिँदा रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्म ठूलो क्षति भएको छ।
बिहीबार बिहान ५ बजेसम्मको नेपाल प्रहरीको विवरणअनुसार बाढीमा परी विभिन्न आठ जिल्लामा १६२ जनाको शव फेला परेको छ। रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बुधबार राति ११ः०५ बजेसम्म १५७ शव फेला परेकोमा रातभरको खोज तथा उद्धारपछि मृतकको संख्या थपिएको हो। खोज तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
१८–२० यात्रुवाहक बस अझै सम्पर्कविहीन
बाढीका कारण रसुवाको गोसाईंकुण्डतर्फ गएका १८ देखि २० वटा यात्रुवाहक बस अझै सम्पर्कविहीन रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनैपूर्णिमाको अवसरमा काठमाडौंँबाट गोसाईंकुण्ड दर्शनका लागि रिजर्भमा गएका बसमध्ये अरनिको यातायात कम्पनीमार्फत रसुवागढी सडकखण्ड हुँदै गएका बसहरू सम्पर्कविहीन भएका हुन्।
ती बसका तीन जना कर्मचारी मात्र सम्पर्कमा आएको अपुष्ट सूचना आएको र बाँकी यात्रु तथा सवारीसाधनको अवस्था अझै अज्ञात रहेको महासंघले जनाएको छ।
महासंघका अनुसार पोखराबाट गएको अर्को एउटा गाडीका पाँच जना सम्पर्कमा आए पनि बाँकी यात्रुको अवस्था थाहा हुन सकेको छैन। गोरखाबाट गएको एउटा गाडीका पाँच जना सम्पर्कमा आएको जानकारी गृह मन्त्रालयलाई गराइए पनि उनीहरूसँग पुनः सम्पर्क टुटेको छ।
३८४ यात्रु तथा पर्यटक सम्पर्कविहीन
बाढीपछि प्रभावित क्षेत्रमा रहेका ३८४ जना यात्रु तथा पर्यटक सम्पर्कविहीन वा बेपत्ता भएको नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणले देखाएको थियो। तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक थिए। पर्यटक तथा यात्रुको अवस्था यकिन गर्न सम्बन्धित निकायले खोजी तथा प्रमाणीकरण गरिरहेको छ।
कैलाश मानसरोवर यात्राका लागि रसुवा पुगेका करिब ५० पर्यटकसमेत बाढीपछि सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको थियो।
६४ प्रहरीमध्ये ३६ सम्पर्कमा, २८ अझै बेपत्ता
बाढीपछि रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ जना प्रहरी सम्पर्कविहीन भएका थिए। बिहीबार बिहान ५ बजेसम्मको विवरणअनुसार तीमध्ये ३६ जना सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन छन्।
इलाका प्रहरी कार्यालय टिमुरेका २३ मध्ये १३, रसुवागढीका नौमध्ये एक, स्याफ्रुबेँसीका आठमध्ये पाँच, मैलुङका आठमध्ये तीन, बेत्रावतीका १० मध्ये नौ र हाकुका छमध्ये पाँच जना प्रहरी सम्पर्कमा आएका हुन्।
यसअघि टिमुरेमा खटिएका सशस्त्र प्रहरीका नौ कर्मचारीसमेत सम्पर्कविहीन रहेको विवरण आएको थियो। सुरक्षाकर्मीहरूको खोज तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ।
टिमुरे, स्याफ्रुबेँसी र रसुवागढीमा ठूलो क्षति
बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। रसुवा भन्सार क्षेत्रसमेत बाढीको चपेटामा परेको छ।
भन्सार प्रमुख राजेन्द्र ढुंगानाका अनुसार भन्सार यार्डमा चेकजाँचका लागि राखिएका विद्युतीय गाडी र ढुवानी ट्रकसहित तीन सयभन्दा बढी सवारीसाधन बगेका छन्। भन्सार कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका थिए।
बाढीले सडक, पुल, जलविद्युत् आयोजना, प्रहरी चौकी तथा अन्य सार्वजनिक र निजी संरचनामा समेत ठूलो क्षति पुर्याएको छ।
बाढीको कारणबारे प्राविधिक प्रतिवेदन सार्वजनिक
सरकारको प्रारम्भिक प्राविधिक अध्ययनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि ठूलो परिमाणमा पानी नेपालतर्फ आएको देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसपछि बिहान ८ः५० बजे स्याफ्रुबेँसीस्थित जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द भएको थियो। करिब ९ बजे तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशीमा प्रवेश गरेको सूचना प्राप्त भएको थियो।
प्राविधिक अध्ययनले नदी थुनिएर बनेको ताल फुट्दा ठूलो परिमाणमा अतिरिक्त पानी बगेको देखाएको छ। यद्यपि बाढीको सटीक उत्पत्ति र घटनाक्रमबारे थप अध्ययन भइरहेको छ।
चारवटा जलमापन केन्द्र बगे
बाढीको तीव्र बहावले भोटेकोशीदेखि नारायणीसम्मका चारवटा जलमापन केन्द्र नै बगाएको छ। जलमापन केन्द्रसँगै पुललगायतका पूर्वाधार बग्दा नदीको अवस्था निगरानी गर्न कठिनाइ भएको छ।
बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा समेत ठूलो असर पुर्याएको छ। धादिङको सदरमुकामलाई पृथ्वी राजमार्गसँग जोड्ने महत्वपूर्ण पुलसहित विभिन्न पुल बगेपछि सडक सम्पर्कसमेत प्रभावित भएको छ।
उद्धारमा हेलिकोप्टर परिचालन
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीमा परिचालन गरिएको छ। बुधबार नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत स्याफ्रुबेँसी, मैलुङ र धुन्चेबाट १२ जनाको हवाई उद्धार गरिएको थियो।
सेनाले टिमुरेमाथिका क्षेत्रमा अलपत्र परेका नागरिकको उद्धारका लागि बिहीबार बिहानदेखि हवाई उद्धारलाई थप तीव्र बनाउने तयारी गरेको थियो।
यातायात क्षेत्र पनि तहसनहस
बाढीपहिरोका कारण रसुवा जाने सडक मात्रै होइन, काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्गसमेत प्रभावित भएका छन्। नागढुंगा–मुग्लिनलगायतका सडकखण्ड अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको प्रारम्भिक अनुमानअनुसार करिब ३०० यात्रुवाहक बससहित ८०० देखि १ हजारसम्म सवारीसाधन फसेका वा डुबेका छन्।
महासंघले प्रभावित क्षेत्रमा फसेका यात्रुको उद्धारका लागि व्यवसायीहरू परिचालन गर्न तयार रहेको जनाएको छ। तर जोखिमपूर्ण सडकमा स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय नगरी आफूखुसी सवारीसाधन नचलाउन महासंघले व्यवसायी र चालकलाई आग्रह गरेको छ।
सरकारको उच्च प्राथमिकता उद्धार र राहत
भोटेकोशी बाढीपछि सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उद्धार तथा खोजीमा परिचालन गरेको छ। प्रभावित क्षेत्रमा हेलिकोप्टरसहित आवश्यक स्रोतसाधन परिचालन गर्ने तयारी गरिएको छ।
सरकारले रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीले नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएकाले नागरिकलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।
बिहीबार बिहानसम्मको अवस्था हेर्दा भोटेकोशी बाढी नेपालकै पछिल्लो समयको सबैभन्दा ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याउने विपद्मध्ये एक बनेको छ। यद्यपि रसुवाको दुर्गम तथा सञ्चार सम्पर्कविहीन क्षेत्रमा अझै उद्धार टोली पुग्न नसकेकाले वास्तविक क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो