पूर्वी पहाडी जिल्लाका किसान धान रापाईसँगै अलेंचीका बेर्ना सार्न व्यस्त

खगेन्द्र कार्की

भोजपुर । वर्षायाम लागेसँगै पूर्व पहाडी जिल्लाका किसानलाई धान रोप्ने र खोल्साखाल्सीमा ओसिलो ठाउँमा अलैंचीका विरुवा लगाउने चटारो परेको हुन्छ । 

यो सिजन अलैँची खेती गर्ने किसानका लागि मुख्य हो, धान जति महत्वका रोपिन्छ त्यतिकै महत्व दिएर अलैंचीका बेर्ना सार्ने गरिन्छ । भोजपुर अरुण गाउँपालिका ४ का किसान शंकरमान कार्कीले वर्षालागेसँगै झण्डै ५ सयको हाराहारीमा अलैंचीका विरुवा लगाएको बताए । उनी भन्छन– पहिला धान मात्र लगाईन्थ्यो पछिल्लो समयमा अलैंचीबाट थप आयआर्जन हुन थालेपछि धानलाई भन्दा पनि अलैंचीलाई प्राथमिकतामा राखेर लगाउन थालिएको बताउँछन् । यद्यपि भात खान धान रोप्नै पर्ने बाध्यताले धान रोपाई र अलैंचीका बेर्ना सार्ने काम सँगैसँगै भईरहेको बताउँछन् । 

यस वर्ष अलैँचीको मूल्य राम्रो भएकाले पनि किसानले अलैँची खेतीलाई जोड दिएको कार्कीको तर्क छ । “आम्दानी र उत्पादनको तुलना गर्दा धानले भन्दा अलैँचीले राम्रो आम्दानी दिएको पाइयो,” इलामको सन्दकपुर गाउँपालिकास्थित माइमझुवाका किसान नरेन्द्र पौड्यालले भने, “त्यही भएर यस वर्ष खेतमा पनि अलैँची नै रोपियो ।” धान खाद्यान्नका लागि महत्वपूर्ण भए पनि अलैँची एक पटक लगाएपछि कम्तीमा आठ–१० वर्षसम्म हुने भएकाले धान खेतमा अलैँची लगाएको पौड्यालको भनाइ छ ।

यस वर्ष अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँसम्म खरिद बिक्री भएकाले किसान अलैँची खेतीमा निकै हौसिएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालको बुझाइ छ ।

यता अलैँचीकै लागि काम गरिरहेको अलैँची विकास केन्द्रले यस वर्ष करिब एक लाख २५ हजार बिरुवा किसानलाई बिक्री गरेको छ । बिउबाट र टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएका स्वस्थ्य बिरुवा किसानलाई उपलब्ध गराइएको केन्द्रका प्रमुख राजन परियारले बताए ।

“माग चार लाख बिरुवाको थियो, यस वर्ष त्यति सङ्ख्यामा पु¥याउन सकिएन तर अर्को वर्ष चार लाख बिरुवा उत्पादन हुने गरेर हामीले विभिन्न जिल्लामा दोस्रो नर्सरी राखेका छौँ,” परियारले भने, “त्यो नर्सरी पनि बिजु बिरुवा र टिस्यु कल्चरबाटै उत्पादन हुने छ ।” केन्द्रले सङ्खुवासभा, भोजपुर, लमजुङ, गोरखा, इलामको फाकफोकथुम र ताप्लेजुङमा गरी कम्तीमा १७ वटा नर्सरी राखेको केन्द्र प्रमुख परियार बताउँछन् ।

अलैँची खेती देशका ५४ जिल्ला १४ हजार ३८३.५ हेक्टर जमिनमा विस्तार भएको केन्द्रले जनाएको छ । चालु आव २०८१÷८२ को हालसम्ममा सात अर्ब १९ करोड सात लाख ४२ हजार रुपियाँको अलैँची बिक्री भएको बताइएको छ ।  

खगेन्द्र कार्की
प्रतिक्रिया