खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले घरविहीन तथा विपन्न तीन परिवारलाई भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । नगरपालिकाले प्रतिपरिवार रु पाँच लाखका दरले लगानी गरी दुई कोठे एकतले घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।
नगरपालिकाका अनुसार लामो समयदेखि जीर्ण घरमा बस्दै आएका हलेसी तुवाचुङ–२ डिकुवाका देशवीर राई, वडा नं ६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थामा रहेका वडा नं १० अर्खौलेका टेकबहादुर सार्कीले नयाँ घर पाएका हुन् ।
नयाँ घर पाएपछि लामो समयदेखि असुरक्षित र कष्टकर जीवन बिताउँदै आएका तीनै परिवार खुसी भएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले उनीहरूका लागि भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेको हो ।
डिकुवाका देशवीर राई वृद्ध दम्पतीमात्र रहेको परिवार हो । उनीहरू लामो समयदेखि जीर्ण कटेरोमा बस्दै आएका थिए । असुरक्षित कटेरोमा बस्दै आएका वृद्ध दम्पतीका लागि नगरपालिकाले नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको हो ।
त्यस्तै, मङ्गलटारका चामे दमाई र भया दमाई दाजुबहिनीको अवस्था पनि दयनीय थियो । अपाङ्गता भएका दाजुबहिनीका लागि नगरपालिकाले नयाँ भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो ।
अर्खौलेका टेकबहादुर सार्कीको परिवार भने लामो समयदेखि घरविहीन अवस्थामा थियो । करिब १२ वर्षदेखि गाउँबाहिर विभिन्न ठाउँमा बस्दै आएको सार्की परिवार दिक्तेलमा बसोबास गर्ने क्रममा १२ वर्षीया छोरी मृत भेटिएपछि अघिल्लो वर्षको भदौमा गाउँ फर्किएको थियो । गाउँ फर्किएपछि परिवारले अरूको घरमा आश्रय लिएर बस्दै आएको थियो ।
गाउँ फर्किएको समयमा नगरपालिकाले सार्की परिवारलाई खाद्यान्न तथा केही नगदसमेत सहयोग गरेको थियो । गाउँमै बसेर जीविकोपार्जन गर्न चाहेको तर आफ्नै घर नभएका कारण समस्या भोग्दै आएको परिवारका लागि नगरपालिकाले नयाँ घर निर्माण गरिदिएको हो ।
नगर प्रमुख विमला राईका अनुसार नगरपालिकाभित्रका नागरिकलाई सुरक्षित आवासको सुनिश्चितता गर्ने उद्देश्यले तीन विपन्न परिवारका लागि घर निर्माण गरिएको हो ।
‘नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवासको सुनिश्चितता गर्न तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘आफ्नो घरको अभावमा अरूको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिनेछ।’
नगरपालिकाले नगरबाहिर अस्थायी रूपमा बसोबास गरिरहेका र घरटहरा हटाइएपछि विस्थापित भएका नगरवासीलाई समेत पुनःस्थापनाका लागि सहयोग गर्ने जनाएको छ । त्यस्ता परिवारले आफ्नै नगरपालिकामा फर्किएर स्थायी रूपमा बसोबास गर्न चाहेमा रु पाँच लाख बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगर प्रमुख राईले बताउनुभयो ।
यस्तो घर निर्माणका लागि पुनःस्थापित हुन चाहने परिवारको नाममा जग्गा भने हुनुपर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले विपन्न तीन परिवारका लागि भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार घर निर्माण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो