दमक । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको चर्चा झापा क्षेत्र नम्बर ५ मा चरमचुलीमा पुगेको छ । तर, यसपटक मतदाताको मनोविज्ञान विगतभन्दा भिन्न देखिन्छ । सुकुम्बासी बस्तीदेखि व्यवसायी र युवासम्म नयाँ राजनीतिक विकल्पप्रति आकर्षण बढेको छ ।
झापा–५ मा निर्णायक मत भनेर वकालत गरिएका सुकुम्बासी बस्ति एमालेप्रति खुशी छैनन । स्थानीय तहमा एमालेका रोम ओलीलेको गतिविधिबाट अधिकांश सुकुम्बासी रुष्ट देखिन्छन । उनीहरुले हाम्रो गाँसबास मेटाउन रोम ओलीले डोजरदेखि कफ्युसम्म लगाउने बनाए । बस्ने ठाउँ नदिएपछि नमूना बस्तिमा बसेका यिनै घरमा जर्वजस्ती आएर पसेका हौ । यहाँ पनि सबै सकुम्बासी छैनन । अन्त सम्पत्ति जोडेकाहरुले पनि यहाँ आएर बस्ने गरेका छन– नाम उल्लेख नगर्ने सर्तमा एक महिलाले भनिन । साना नानीहरु काखमा लिएर त्यो बेलाको तनाव अझै सिनेमा झै दिमागमा घुमिरहन्छ । अहिले छोरा प्लस टुमा अध्ययनरत छ । यसको भविष्यका लागि सागसब्जी बेचेर बसेको थिएँ हटाइदिएपछि ज्याला मजदुरी बाहेक विकल्प रहेन ।
नमूना बस्तिमा ढल बन्दैछ । यो ढल नगरको योजना हो कि वडाको प्रश्न तेस्र्याउन नपाउँदै एक बृद्धले भने– यो हर्क साम्पाङको माटोले धरानबाट पठाइदिएको हो भन्दै हाँसे । अर्की महिलाले थपिन– नगरपालिकालको पहलमा बन्दै गरेको भए पनि यो पटक भोट भने पुराना दलमा हालिन्न । भोट अब सुकुम्बासी, अव्यस्थित बसोबासमाथि हरेक निर्वाचनमा राजनीति गर्नेलाई भन्दा यसको समस्या सँधैका लागि समाधान गर्नेलाई दिने हो ।
एमालेले बालेनलाई सुकुम्बासी उठाउने मेयरको रूपमा चित्रित गर्दै नकारात्मक प्रचार गरिरहेका बेला सुकुम्बासीका यि कथनले उल्टो असर गरेको स्पष्ट देखिन्छ । “हामीलाई हटाउने होइन, बस्न दिने आशा बालेनले दिएका छन् । त्यसैले अब नयाँलाई समर्थन गर्छौं ।” दमकमा अटोरिक्सा चालक निखिल राई थप्छन् । त्यसो त दमकमा नभएर गौरादहका सुकुम्बासीको विचार पनि दमकसँग मिल्दो छ । गौरादह–८ का बमबहादुर कार्की भन्छन्, “बालेनले सुकुम्बासीलाई उठाउने होइन, व्यवस्थित गर्ने भनेका छन् । यसपटक नयाँ दलको चर्चा मात्रै छ ।” भोट तिनैलाई हालिन्छ ।
पुराना दल रक्षात्मक, नयाँ दल आक्रामक
झापा–५ मा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसकी मन्दरा चिमोरिया, रास्वपाका बालेन शाह, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मी संग्रौला, र श्रमसंस्कृति पार्टीका समित तामाङबीच प्रतिस्पर्धा छ ।
काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर बालेन शाह झापा आएका क्षणदेखि नै यहाँको राजनीतिक समीकरण हल्लिएको छ । स्थानीय विश्लेषकहरूको भनाइमा, “बालेनको आगमनले यो क्षेत्र राष्ट्रिय चर्चा बनेको छ, ओली पहिलोपटक रक्षात्मक अवस्थामा छन् ।”
“ओलीलाई विरोध होइन, नयाँको खोज”
अधिकांश मतदाताले ओलीको कार्यकालमा भएका विकास कार्यलाई अस्वीकार गरेका छैनन्, तर उनीहरू भन्छन् — “अब पुग्यो ।” दमक–५ का कांग्रेस कार्यकर्ता विष्णु खड्का भन्छन्, “अहिलेसम्म कांग्रेस छाडेको थिइनँ, तर यसपटक नयाँलाई रोज्छु।”
पूर्व एमाले कार्यकर्ता यमनाथ गौतम थप्छन्, “उही मान्छेलाई बारम्बार जिताएर के भयो? योपटक नयाँ स्वाद चाहियो ।”
युवापुस्तामा ‘बालेन क्रेज’
दमकका युवा व्यवसायी अच्युत निरौला भन्छन्, “बालेनले काठमाडौंमा विकास गरेको छवि यहाँका युवामा गहिरो बसेको छ।” सामाजिक सञ्जालमा उनका भिडियो हेरेका युवाले “घण्टी” लाई उत्साहपूर्वक समर्थन गरिरहेका छन्।
गौरीगञ्ज गाउँपालिकाकी राधा महतो भन्छिन्, “बालेनले झापालाई काठमाडौंजस्तै चम्काउँछन् भन्ने विश्वास छ।” त्यहाँका व्यापारी किशोरकुमार शाह पनि भन्छन्, “पुरानाबाट दिक्क भएका सबै नयाँलाई भोट दिन तयार छन्।”
एमालेभित्रै असन्तोष
पार्टी महाधिवेशनपछिको असन्तुष्टि र स्थानीय नेतामाथिको आक्रोशले झापा–५ मा एमालेको संगठनभित्र विभाजन स्पष्ट देखिन्छ । गौरादह–२ का ज्ञानप्रसाद न्यौपाने यद्यपि आशावादी छन् — “केपी ओली देशकै नेता हुन्, अन्त्यमा झापालीले उहाँलाई नै जिताउँछन् ।” तर त्यहींकी रिता खड्का चेतावनी दिन्छिन् — “माहोल नयाँको पक्षमा छ, अन्तिममा फेरी बदलिन सक्छ ।”
भ्यूटावरको प्रतीकात्मक असफलता
ओलीको ‘विजनेस पार्क’ अर्थात दमक भ्यूटावर अहिले स्थानीय असन्तोषको केन्द्र बनेको छ । करिब १ अर्ब ६३ करोड रुपैयाँ लागतमा बनेको त्यो संरचना सुनसान छ । स्थानीय दिलीप अधिकारी भन्छन्, “त्यो जंगलबीचको टावर राज्यकोषको दुरुपयोगको उदाहरण हो।” अब त्यो टावर ‘पुराना नेताको असफल प्रतीक’ बनेको छ ।
“रास्वपाको सदस्यता लिन्न, तर भोट हाल्छौं”
रास्वपाको सदस्यता नलिई पनि समर्थन गर्ने मतदाता धेरै देखिए। दमककी व्यवसायी मुना पौडेल भन्छिन्, “पुरानालाई देख्यौं, अब नयाँलाई हेरौं।” ६३ वर्षका वेदनिधि गौतम थप्छन्, “विकास सरकारको काम हो, व्यक्तिको होइन। अब नयाँलाई मौका दिनुपर्छ।”
दैनिक जीवनका मतदाता पनि परिवर्तनमुखी
सडक किनारका भक्का बेच्ने बुद्धिकुमारी खवास भन्छिन्, “भोट कहाँ हाल्ने टुंगो छैन, तर नयाँतिर मन तानिएको छ ।” अटोरिक्सा चालक विक्रम लिम्बु ले भने, “बूढापाकाले पुराना भन्छन्, युवाले नयाँ ।”
दमकका मेडिकल व्यवसायी पदम ढुंगाना ले परिस्थिति चित्रण गर्दै भने, “झापा–५ अहिले नयाँ बेहुली आएको घरजस्तै चम्किएको छ ।”
निष्कर्ष ः तीन दिनको स्थलगत अध्ययनले झापा–५ मा यो पटक ‘एण्टी–इनकम्बेन्सी’ लहर स्पष्ट देखाएको छ। सुकुम्बासीदेखि शिक्षित वर्गसम्मको एउटै स्वर छ — “अब नयाँ चाहियो ।”
तर राजनीतिक रूपमा बलियो संगठन र पुरानो जनाधार भएको एमाले अन्तिम क्षणसम्म बलियो प्रतिस्पर्धी बन्ने देखिन्छ। मतदाता अझै निर्णयको अन्तिम चरणमा पुगेका छैनन्, तर परिवर्तनको लहर झापा–५ को हावामा स्पष्ट महसुस हुन्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो