आज तराईमा होली, रंग, विश्वास र सत्यको प्रतीक ः होलीमा रंगको अर्थ

खगेन्द्र कार्की

इटहरी । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।

पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।

होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा थियो ।

स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ ।

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।

पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गरिन्छ ।

होली प्राचीन हिन्दू पर्व हो—रंग, उल्लास र आत्मीयताको प्रतीक । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व नेपाल र भारतभर श्रद्धा र रमाइलोसँग खेलिन्छ । यसको इतिहास त्रेतायुगदेखि जोडिएको मानिन्छ ।

किंवदन्ती अनुसार राक्षस हिरण्यकश्यपुका पुत्र प्रह्लाद भगवान विष्णुका परमभक्त थिए। आफ्नै छोराको भक्ति सहन नसकेर हिरण्यकश्यपुले बहिनी होलिकालाई प्रयोग गरी प्रह्लादलाई आगोमा जलाउने षड्यन्त्र गरे। तर ‘अग्नि नजल्ने’ वरदान प्राप्त होलिका आफैँ जलेर खरानी भइन् र प्रह्लाद जीवित रहे । असत्यमाथि सत्यको विजयको यही दिनको सम्झनामा होली मनाउने परम्परा सुरु भयो ।

द्वापर युगमा पनि होलीसँग सम्बन्धित अर्को कथा छ—कंशकी राक्षसनी पुतना भगवान श्रीकृष्णलाई मार्न दूधमा विष मिसाएर गएकी थिइन्, तर कृष्णले उल्टै उनलाई मारे। त्यस दिनको खुसीमा ब्रजवासीहरूले रंग र अबिर दल्दै होली खेलेका थिए। यही स्मरणमा आज पनि ‘चीरदाह’ गरी होली मनाउने चलन छ ।

नेपालमा फागुन शुक्ल अष्टमीका दिन वसन्तपुर दरबार अगाडि लिङ्गो गाडी चीर गाडेपछि होली सुरु भएको मानिन्छ र पूर्णिमाको रातमा त्यसलाई ढालेर जलाएपछि पर्व समाप्त हुन्छ । पहाडमा आज र तराईमा भोलि होली खेल्ने परम्परा छ ।

होलीको धार्मिक अर्थ जति गहिरो छ, यसको सामाजिक र मनोवैज्ञानिक पक्ष पनि त्यति नै महत्त्वपूर्ण छ । रंगहरू केवल सौन्दर्यका प्रतीक होइनन्—रातो प्रेम र साहसको, हरियो जीवन र प्रकृतिको, पहेँलो भक्ति र सरलताको, निलो सत्य र धर्मको, सेतो शुद्धताको, र कालो इष्र्या वा अहंकारको प्रतीकका रूपमा लिइन्छ । हरेक रंगले मानिसको भावनामा फरक प्रभाव पार्छ ।

होलीले समाजमा एकता, प्रेम र क्षमाको सन्देश दिन्छ । पुराना रिस–इष्र्या भुलाउने, सम्बन्धमा नयाँ रंग भर्ने यही पर्वको सार हो । स–साना बालबालिकादेखि वृद्धसम्म सबै उमेरका मानिस यस दिन रमाउँछन्। हिन्दु धर्मावलम्बी मात्र होइन, विविध धर्म र जातका मानिस पनि होलीको रंगमा रंगिन्छन् ।

तर होली केवल उमङ्गको पर्व होइन, संयम र सद्भावको पनि हो। रंगले मात्र होइन, मनले पनि सफा भएर एकअर्काप्रति आदर र माया बाँड्नु नै यसको मर्म हो। असत्यमाथि सत्य, अन्धविश्वासमाथि विवेक र वैरभावमाथि आत्मीयताको जितको सन्देश दिने पर्व हो—होली ।

रंगको अर्थ र यथार्थता

हिउँदे चिसो मन्द हुँदै जाँदा वसन्तको सुरुवातसँगै देशभर रंग र उमङ्गको लहर चलेको छ। होली—रंगहरूको त्यो पर्व जसले देशलाई हर्ष, सद्भाव र आत्मीयताका रङमा रङ्ग्याउँछ—यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदै छ। काठमाडौंका साँघुरा गल्लीदेखि टुँडिखेल, बसन्तपुर, दरबारमार्ग र ठमेलका फराकिला चोकसम्म युवायुवतीका टोलमा अबिरको उडान देखिन्छ । पहाडका सहरदेखि हिमाली बस्तीसम्म होलीको रौनक समानै छ ।

तर यस वर्षको होलीमा एउटा फरक दृश्य पनि छ—देश चुनावको मुखमा छ। त्यसैले रंगमा उमङ्ग त छ, तर सतर्कता पनि छ। सरकारले घरमै सीमित भएर होली खेल्न आग्रह गरेको छ। प्रहरी प्रशासनले ‘होलीलाई मर्यादित बनाऔँ, उल्लङ्घन नगरेऊँ’ भन्दै सार्वजनिक सन्देश दिएको छ। यही कारण राजधानीको सडकमा विगतका वर्षजस्तो भीड, उच्छृङ्खलता र रंगको बाढी कम देखिए पनि आत्मीयताको अबिर भने उस्तै छ ।

होली केवल रंगमा नुहाउने उत्सव होइन, यो सम्बन्धमा नयाँ रंग भर्ने अवसर पनि हो। झुठो अहंकार पखाल्ने, पुराना रिस–इष्र्या मेट्ने र सहअस्तित्वको संदेश दिने पर्व हो होली। एक–अर्कालाई रंग लगाउँदै ‘ह्याप्पी होली’ भन्ने क्षणमा मानिसले नजिकता महसुस गर्छ। यही होलीको सार हो—सम्बन्धको पुनःस्थापना ।

तर होलीका दुर्वल पक्ष पनि छन् । वर्षेनी होलीका नाममा उच्छृङ्खलता, जबर्जस्ती रंग दलेर दुव्र्यवहार र सडक दुर्घटनाका घटनाहरू सुनिन्छन् । केही युवाले मदिरा सेवनपछि होलीलाई दुरुपयोग गर्ने प्रवृत्ति अझै रोकिएको छैन। यस्तो व्यवहारले पर्वको मर्म बिगार्छ र उत्सवलाई डरको कारण बनाउँछ । यस्तै कारणले कतिपय बालबालिका र महिला होलीको दिन घरमै बस्न रुचाउँछन् ।

यसबीच, पहाडी क्षेत्रमा आज (फागुन १८) होली मनाइँदै छ भने भोलि (फागुन १९) तराईमा होली खेलिनेछ। तराईका सहरहरूमा होली अझ भव्य र सामाजिक सहकार्यसहित मनाइन्छ। गाउँका चोकमा गीत–नाच, ढोल–मादल र ठट्टासहितको रमझम हुन्छ। रंग, गुलाल र अबिरले सहर मात्रै होइन, मनका पर्खाल पनि रङ्ग्याउँछ। यही होलीको आत्मा हो—विविधता बीचको एकता ।

होलीको सवल पक्ष हो—यो समाजलाई जोड्ने शक्ति हो। धर्म, जात, वर्ग, भाषा र भौगोलिक सीमा नमान्ने यो पर्वले नेपाली पहिचानमा समावेशी सौन्दर्य थप्छ । विद्यालयदेखि कार्यालयसम्म, शहरदेखि गाउँसम्म मानिसहरू एउटै रंगमा एकाकार हुन्छन्। पर्यटनका लागि पनि यो पर्व अवसर बनिसकेको छ—देशभित्र र बाहिरका पर्यटक होली मनाउन काठमाडौं, पोखरा, जनकपुर र विराटनगर जस्ता सहर आउँछन् ।

तर सँगसँगै जिम्मेवारी पनि आवश्यक छ। रंगमा रम्दा अनुशासन नबिर्सौं, माया बाँड्दा मर्यादा नछोडौं—यो सन्देश पनि होलीले दिन्छ । किनकि होली केवल उत्सव होइन, सामाजिक चरित्रको परीक्षा पनि हो ।

यसरी हेर्दा होलीले नेपाली समाजको द्वैत स्वरूप देखाउँछ—एकातिर उल्लास र एकताको रङ, अर्कातिर अनुशासन र मर्यादाको चेतना। वसन्तसँगै प्रकृति जस्तै मानिसको मन पनि ताजगीले भरिएको यो बेला, होलीले हामीलाई सम्झाउँछ—“रंग उडाएर होइन, माया बाँडेर रमाऔं ।”


खगेन्द्र कार्की
प्रतिक्रिया