भोजपुरमा एकै परिवारका चारजनाको हत्या, शव परिक्षणका लागि शव जिल्ला अस्पतालमा

फाष्ट मिडिया नेपाल संवाददाता


भोजपुर/ भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने ३० बर्षिय राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुराली घरमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी एकैसाथ हत्या गरेका हुन् । उनी असार १२ गतेदेखि ससुराली घरमा बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाका अनुसार रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानीस्थित एकै घरमा चार जनाको शव हत्या गरिएको अवस्थामा फेला परेको हो । मृत्यु हुनेहरूमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, १५ बर्षिया श्रीमती मनिषा गिरी र ९ बर्षिय सालो सपन गिरी रहेका छन् ।

घटनास्थलमा गम्भीर घाइते अवस्थामा फेला परेका राईले आफूले नै हत्या गरेको स्वीकार गरिसकेको डीएसपी तिमिल्सिनाले जानकारी दिए । ‘घाइते अवस्थामा नियन्त्रणमा लिइएका अभियुक्त राईले हत्या आफूले नै गरेको स्वीकारेका छन्,’ डीएसपी तिमिल्सिनाले भने, ‘पारिवारिक विवाद नै घटनाको मुख्य कारण देखिन्छ ।’

शनिबार राति करिब १ बजे घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले हत्यापछि आफूलाई पनि घाइते बनाएका अभियुक्त राईलाई तत्कालै उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल, भोजपुर पठाएको छ । उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

प्रहरीले घटनास्थललाई पूर्ण रूपमा सिल गरी प्रमाण संकलन र थप अनुसन्धान कार्यलाई तीव्रता दिएको छ । एउटै परिवारको वंशनाश हुने गरी भएको हत्याकाण्डको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा

भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न जिल्ला अस्पताल लगिएको हो ।

गएराति १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको छुरा प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईलाई पक्राउ गरेको छ ।

राति उनले नै प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले चारै जनालाई मृत अवस्थामा फेला पारेको थियो । राईलाई भने वडा नं। १ मा रगताम्ये अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।

भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए । तर, उनलाई फर्काउन नमानेपछि विवाद भएको र त्यही कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया