इटहरी । मौन अवधि सुरु भएसँगै सुरक्षा निकायहरूले देशभर सुरक्षा व्यवस्था कडा पारेका छन् । मतदान केन्द्र र संवेदनशील क्षेत्रको पहिचान गरी त्यहाँ अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई आवश्यक समन्वयका साथ उच्च सतर्कतामा राखिएको जनाइएको छ । सीमा नाकामा निगरानी बढाइएको छ भने सवारी साधन जाँचलाई पनि कडाइ गरिएको छ ।
निर्वाचन आयोग नेपाल ले मौन अवधिमा सामाजिक सञ्जालमार्फत मत प्रभावित पार्ने सामग्री प्रकाशन नगर्न, एसएमएस, फोन वा अन्य माध्यमबाट मत माग्ने कार्य नगर्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई निर्देशन दिएको छ । आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिने आयोगले चेतावनी दिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।
मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीमात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सृजना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्वपूर्ण मानिन्छ ।
निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति मानसिक रुपमा तयार भएर जानसक्ने अवस्था सृजना गर्न मौन अवधिको परिकल्पना गरिएको हो । आआफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ ।
मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्दछ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने लगायतका काम भई रहेको छ ।
मतदान स्थलमा तयारी
निर्वाचनको मौन अवधी शुरु भएसँगै मतदान केन्द्रमा आवश्यक तयारी शुरु गरिएको छ । आगामी बिहीबार हुने निर्वाचनका लागि झापाका पाँच वटै निर्वाचन क्षेत्रमा सम्पूर्ण प्रकारले आवश्यक प्रशासनिक र प्राविधिक तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक सबै प्रबन्ध मिलाएको जनाइएको छ ।
जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका अधिकांश मतदान अधिकृतले निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छापसहितका ६० भन्दा बढी प्रकारका सामग्री बुझिसकेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जनाए । उनका अनुसार सामग्री बुझिलिएसँगै मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीको टोली आआफ्नो तोकिएको मतदान केन्द्रमा पुगेर काम सुरु गरेका छन् । मतदान अधिकृत तथा कर्मचारी टोलीले मतदान स्थल निर्माण गर्ने, सर्वदलीय बैठक आह्वान गर्ने र मतदातालाई मतदान गर्ने सही तरिकाबारे जानकारी दिने कार्य सुरु गर्ने नेपालले बताए । झापाका पाँच वटै निर्वाचन क्षेत्रका २८५ वटा मतदान स्थलमा ८१५ वटा मतदान केन्द्र कायम गरिएको छ । झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार मतदान अगाडि पूरा गर्नुपर्ने सबै प्रव्रिmया पूरा भएको छ ।
यसैबिच यहाँको सुरक्षाव्यवस्थालाई अत्यन्तै कडा पारिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले एकीकृत सुरक्षा योजना अन्तर्गत काम गरिरहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाए । उनका अनुसार झापाका कुल २८५ मतदान स्थलमध्ये ९५ वटालाई अति संवेदनशील सूचीमा राखिएको छ । प्रजिअ गेलालले १४७ स्थल संवेदनशील र ४३ वटा मतदान स्थल सामान्य रहेको जानकारी दिए । झाामा कुल ८१५ वटा मतदान केन्द्र तोकिएका छन् ।
सिमा क्षेत्र सिल
भारतसँग १४४ किलोमिटर खुला सीमा जोडिएको नेपालको पूर्वी नाका झापा जिल्लामा ७२ घण्टाका लागि सीमा सिल गरिएको छ । निर्वाचनका बेला हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो निर्णय गरिएको बताइएको छ ।
मङ्गलबार बिहानैदेखि नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालन भएका छन् । सीमा क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मी आ–आफ्नो देश तर्फ तैनाथ भएका हुन् । निर्वाचनको समयमा ७२ घण्टा सिमा क्षेत्र सिल गरिने गर्छ । अतिआवश्यक काम बाहेक आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाए । केहि दिन अघि भारतीय अधिकारीहरुसँग निर्वाचन केन्द्रित छलफल भएको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो