आचार संहिता पालनामा खेलाची

फाष्ट मिडिया नेपाल संवाददाता

अहिले देशभर चुनावी माहोल तातेको छ । लोकतन्त्रको यो महत्वपूर्ण प्रक्रियामा नागरिकको सहभागिता, राजनीतिक दलको जिम्मेवारी र राज्यका निकायको निष्पक्षता सबैभन्दा बढी परीक्षामा पर्छन् । तर, चुनाव नजिकिँदै जाँदा आचारसंहिता उल्लङ्घनका घटना बढ्नु, सामाजिक सञ्जालमार्फत भ्रम फैलिनु, निकृष्ट अभिव्यक्ति र द्वेषपूर्ण विचार तथा चित्र सार्वजनिक हुनु गम्भीर चुनौतीका रूपमा देखिएका छन् । यस्ता गतिविधिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउनुका साथै समाजमा अनावश्यक तनाव र अविश्वास सिर्जना गर्ने खतरा हुन्छ ।

एकातर्फ राजनीतिक दल र उम्मेद्वारबाट हुने आचारसंहिता उल्लङ्घन चुनौती बनेको छ भने अर्कोतर्फ सञ्चार माध्यम र सामाजिक सञ्जालको दुरुपयोग अर्को ठूलो समस्या हो । विचार राख्ने स्वतन्त्रता लोकतन्त्रको आधार भए पनि त्यसको नाममा व्यक्तिगत चरित्र हत्या, गोपनीयता उल्लङ्घन र घृणा फैलाउने काम स्वीकार्य हुँदैन । विशेषगरी सामाजिक सञ्जालमा सत्य–असत्य नछुट्याइ सामग्री सेयर गर्ने प्रवृत्तिले निर्वाचन प्रक्रियालाई नै दूषित बनाउने जोखिम बढाएको छ ।

यसै सन्दर्भमा झापा क्षेत्र नं. ५ का राजनीतिक दल तथा उम्मेद्वारहरूले मर्यादित रूपमा चुनावी प्रचारमा लाग्ने प्रतिबद्धता जनाउनु सकारात्मक र स्वागतयोग्य कदम हो । तर, प्रतिबद्धता कागज र भाषणमा मात्र सीमित हुनु हुँदैन । व्यवहारमै देखिनु आवश्यक छ । चुनावी सभादेखि सामाजिक सञ्जालसम्म, शब्द र कर्म दुवैमा संयम र जिम्मेवारी देखिनु नै साँचो लोकतान्त्रिक आचरण हो ।

यस्तैले, निर्वाचन कार्यालयले व्यक्तिको स्वतन्त्रता र गोपनीयता भंग हुने अभिव्यक्तिहरू सार्वजनिक नगर्न दिएको चेतावनी समयसापेक्ष र महत्वपूर्ण छ । यसलाई राजनीतिक दल, उम्मेद्वार, सञ्चारकर्मी र आम नागरिक सबैले पालना गर्नुपर्छ । त्यसो त, पछिल्लो समय निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले १२० वटा कन्टेन्ट उत्पादक÷सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनबमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा र छ वटालाई दूरसञ्चार प्राधिकरण ऐनबमोजिम आवश्यक कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ । त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐनबमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ ।

निर्वाचन आचार संहतालाई कसैले पनि खेलाँचीको विषय ठान्नु हुँदैन । निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा स्थापित गर्न स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा नागरिकले आफ्नो मत जाहेर गर्न पाउने अवस्था निर्माण गर्नु आजको आवश्यकता हो । जिम्मेवार व्यवहारबाट मात्र विश्वासयोग्य र अर्थपूर्ण निर्वाचन सम्भव हुन्छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया