इटहरी उपमहानगरले सार्वजनिक ग¥र्यो विद्यूतीय गाडी, सडक गुणस्तर तथा खाद्य गुणस्तर प्रयोगशाला र सहायता कक्ष उद्घाटन

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण चलाउन सक्ने बाटो खुल्ला गरेपछि इटहरी उपमहानगरपालिकाले पनि २ वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरेर सार्वजनिक गरेको छ । संघीय सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरिसकेको छ । सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको छ ।

इन्धनबाट चल्ने सवारी साधनलाई इटहरी वडा नं.१७ का दुई जना विद्यार्थीले विद्युतीय सवारीमा रूपान्तरण गरी उपमहानगरपालिकालाई दुई वटा मोटरसाइकल हस्तान्तरण गरेका छन् । इन्जिनियरिङमा डिप्लोमा तह पुरा गरेका आदित्य आचार्य र रिसप गडतौलाले छ महिना लगाएर इन्धनबाट चल्ने सवारी साधनलाई मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेसँगै त्यसलाई पनि सार्वजनिक गरिएको छ ।

सडक गुणस्तर ल्याव प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला, नागरिक साहयता कक्षको उद्घाटन र इन्धनबाट चल्ने सवारी साधन मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेका सवारीलाई सार्वजनिक मेयर हेमकर्ण पौडेलले गरे ।

उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर सो गाडी विद्युतीयमा रुपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

देशमै पहिलो पटक स्थानिय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । यस्तै दावी खाद्य मापन प्रयोगशालामा पनि गरिएको छ । इटहरी उपमहानगरपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरू आएपछि आफ्नै गुणस्तर ल्याव प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ । 

सडक निर्माण गर्दा अनिवार्य ल्याब परीक्षण गर्नु पर्ने व्यवस्था अनुसार पूर्वाधार गुणस्तर ल्याब सञ्चालनमा ल्याइएको इन्जिनियर राजेश दाहालले बताए ।

सडकको गुणस्तर मापनका लागि उपमहानगरपालिका भित्रै ल्याबको स्थापना गरिएसँगै आसपासका क्षेत्रबाट पूर्वाधार गुणस्तर परीक्षण गर्न थालेको इन्जिनियर दाहालले बताए । यसरी गुणस्तर मापन गर्दा उपमहानगरका सडकको गुणस्तर कायम गर्न मद्दत पुग्नेछ ।

आफ्नो ल्याव परीक्षण प्रयोगशाला नहुँदा इटहरीभन्दा बाहिर लगेर परीक्षण गर्दा समय लाग्ने र विशेष गरी उपभोक्तालाई झन्झटिलो हुने गरेकोमा अब सहज भएको छ  ।

यसै गरी, खाद्य तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि खाद्य परीक्षण प्रयोगशाला पनि सुरु गरिएको छ ।

खाद्य परीक्षण सञ्चालनमा आएसँगै बजार अनुगमन गर्दा कुनै पनि वस्तुमा कैफियत भेटिदा कति प्रतिशत कैफियत भएको भनेर मापन गरी कारबाही गर्न सहज हुने खाद्य अधिकृत नवकिशोर भट्टराईले बताए । उनका अनुसार अबदेखि आम उपभोक्तालाई आफूले खाने खाद्य वस्तुको गुणस्तर मापन गरी तत्काल जानकारी हुनेछ ।

उपमहानगरपालिका उपमेयर सङ्गीता चौधरीले खाद्य ल्याब सञ्चालनले आफू अनुगमन गर्दा आँखाले देखिने बाहेक क्वालिटी र क्वान्टीटीलाई छुट्टाएर अनुगमनलाई थप सहज बनाउने बताइन् ।

त्यस्तै इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याब स्थापना गरेको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याब स्थापना गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

​सो क्रममा मेयर पौडेलले इटहरीमा २० महिनाको अवधिमा धेरै काम भएको दावी गरेका छन् । उनले इटहरीलाई हिलोमुक्त र धुलोमुक्त बनाउने ढङ्गले युद्दस्तरमा काम भइरहेको बताए ।

‘हिलोमुक्त र धुलोमुक्त बनाउने अभियानलाई सफल पार्नका लागि सडक एम्बुलेन्स नै खडा गरिएको छ,’ उनले भने, ‘काहीँ सडक बिग्रनासाथ सडक एम्बुलेन्सले काम गरी हाल्छ ।’ उनका अनुसार इटहरी उपमहानगरपालिकाले अबको दुई वर्षभित्रमा सभागृहको निर्माण पुरा गर्ने भएको छ । सभागृह इटहरी वडा नं. ५ का काब्यबाटिका निर्माण हुने भएको छ ।

​चालु आर्थिक वर्षमै नगर बस सञ्चालन गर्ने योजना अनुसार आगामी वैशाख महिनादेखि सुचारु गरिने मेयर पौडेलले बताए । नगर बस सञ्चालनसँगै नगरभित्र १५ वटा चार्जिङ् स्टेसन पनि राखिने भएको छ ।

इटहरीको चौरस्ता चोकमा वैशाख महिनाभित्रै दुई वटा आकाशे पुलको पनि निर्माण पुरा गरी सक्ने पौडेलले बताए । उनका अनुसार इटहरीलाई व्यवस्थित सहरको रूपमा विकास गर्न गुरुयोजना पनि निर्माण प्रक्रिया अगाडि बढाइएको  छ ।



फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया