इटहरी ÷ दुई साता देखि चिया निर्यात ठप्प भएपछि उद्योगी तथा किसानहरु प्रधानमन्त्री बालेन्द्र शाहको भुमिकाको पर्खाइमा रहेको जनाएका छन् । व्यवसायीहरुको तर्फबाट पटक पटक प्रयास गरे पनि निर्यात सहज हुन नसके पछि उनीहरुले सरकारको उच्च स्तरबाटनै पहलकदमीको जरुरी रहेको बताएका हुन् ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले दुई साता देखि चिया निर्यात ठप्प भएको जनाएका छन् । यस विचमा व्यवसायीहरुको तर्फबाट सहजीकरणको प्रयास भए पनि समाधान हुन नसकेकाले सरकारको उच्च स्तरबाटनै सहजीकरण गरि दिनु पर्ने उनले जनाए । भारत सरकारले मे १ देखि लागू हुने गरी चिया आयातमा नयाँ र अव्यावहारिक नीति लागू गरेपछि ठप्प बनेको चिया निर्यात कहिलेबाट खुल्छ वा सधैंका लागि बन्द हुन्छ भन्ने अन्योलले चिया क्षेत्र त्रसित बनेको छ ।
नेपालबाट चिया बोकेर भारतीय नाका पुग्ने प्रत्येक गाडीबाट नमूना संकलन गर्ने, त्यसलाई प्रयोगशाला परीक्षणका लागि कोलकाता पठाउने र रिपोर्ट नआएसम्म बिक्री गर्न नदिने नियमको मारमा नेपालको चिया परेको हो । नेपालको ’चिया हब’ मानिने कोशी प्रदेशका तराई तथा पहाडी जिल्लाहरूमा यतिबेला चियाको हरियो पत्ती टिप्ने धमाधम छ । प्रि(मनसुनमा नियमित अन्तरमा भइरहेको वर्षाले हरियो पत्तीको उत्पादन पनि ह्वात्तै बढेको छ । चैत र वैशाख महिनाभरि टिपिने हरियो पत्ती चियाको गुणस्तरका लागि सबभन्दा राम्रो मानिन्छ । त्यसैले बगानबाट टिपिएको पत्ती प्रशोधन गरेर तयारी चिया बनाउन उद्योगहरू व्यस्त छन् । तर वर्षभरिकै सबभन्दा राम्रो गुणस्तरको चिया उत्पादन हुने बेला गुणस्तरकै प्रश्न उठाएर भारतले नेपालको तयारी चियाको आयात रोकेको दुई साता भन्दा बढि भएपछि उनीहरु समस्यामा परेका हुन् ।
नेपाली चियाको एक मात्र अन्तर्राष्टिूय बजार भारततिर चिया पठाउने मुख्य समयमै १५ दिनदेखि निर्यात ठप्प हुँदा किसान तथा उद्यमीहरु संकटमा परेको र उत्पादित चियाको पनि गुणस्तर बिग्रने अवस्था आउन लागेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
बोर्ड नेतृत्व बिहिन
चिया क्षेत्रको प्रतिनिधीत्व गर्ने उच्च स्तरीय सरकारी निकाय अहिले नेतृत्व विहिन छ । अध्यादेश ल्याएर चिया तथा कफी विकास बोर्डको नेतृत्व हटाएको सरकारले नयाँ नेतृत्व चयन गरेको छैन । भारतीय अवरोध सुरू भएका बेला समस्या समाधानको पहल नगर्ने, समस्या सुन्न समय नदिने र चिया तथा कफी विकास बोर्ड पनि नेतृत्वविहीन पार्ने सरकारी कदमले चिया उद्योग जुनसुकै बेला बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन् । वार्षिक साढे चार अर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा नेपाल भित्र्याउने चिया क्षेत्रमा आएको नयाँ समस्या समाधानमा सरकार मूकदर्शक बनेको भन्दै उद्योगीहरू निराश बनेका छन् ।
चिया निर्यातमा उत्पन्न भारतीय अवरोध खुलाउन सरकारी तहबाट ठोस प्रयास हुन नसकेको उद्यमीहरुको गुनासो छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले भने यसबारे सरोकारवालाहरूसँग छलफल गरेको बताएका छन् । तर समस्या समाधान हुन सकेको छैन ।
लामो र झण्झटिलो नियम
मे १ देखि प्रत्येक गाडी चियाको नमूना संकलन गर्ने र कोलकातामा परीक्षण भएर रिपोर्ट आउनै दुई साता लाग्ने भएको छ । भारतले नयाँ नियम लगाएपछि नेपाली पक्षले एक साताअघि एउटा गाडी भारत पठाएको छ। तयारी चिया बोकेर भारतीय नाका पानीट्यांकी पुगेको गाडी एक सातादेखि त्यहाँ खुला सडकमा रोकिएको छ । चार दिनपछि संकलित नमूनाको रिपोर्ट कहिले आउने कुनै टुंगो छैन । भारतमा वार्षिक सरदर १५० करोड केजी तयारी चिया उत्पादन हुन्छ । यसको तुलनामा नेपालबाट भारत पुग्ने चिया न्युन परिमाण हो । तर त्यही थोरै परिमाणको चिया पनि भारतीय उद्योगीको दबाबमा सरकारले रोकेको नेपाली पक्षको आरोप छ । नेपालका चिया उद्योगीहरू प्रयोगशाला परीक्षणप्रति आफूहरूलाई कुनै आपत्ति नभएको बताउँछन् । तर भारत सरकारले तोकेको प्रयोगशालाबाट रिपोर्ट आउन १५ देखि २५ दिनसम्म लाग्ने भए पछि समस्यामा पर्नु परेको इलामका चिया उद्यमी ज्ञानी लिम्बूको भनाई छ । रिपोर्ट आउने बेला सम्म चिया बोकेको गाडी पानीट्यांकीको खुला सडकमा राख्नुपर्ने बाध्यता छ । भारतीय पक्षले रिपोर्ट नआउञ्जेल चिया बोकेको गाडीलाई बोर्डरमै रोकेर राख्नुपर्ने भनेपछि गाडीमै हप्तौं थन्किँदा चियाको गुणस्तर खस्कने र ठूलो आर्थिक नोक्सानी हुने उद्योगीहरू बताउँछन् ।
मुख्य बजारनै भारत
नेपालमा वार्षिक रूपमा उत्पादन हुने करिब ७० लाख किलो अर्थोडक्स चियामध्ये इलाममा मात्रै ४० देखि ४५ लाख किलो उत्पादन हुन्छ । नेपालमा अहिले साना(ठूला गरी १२० हाराहारी चिया उद्योग छन् । त्यस्तै, १०० भन्दा बढी साना(मझौला उद्यमी सक्रिय छन्, जहाँ किसान र श्रमिक गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिसले रोजगारी पाएका छन् । अघिल्लो वर्ष मात्रै सिटिसी र अर्थोडक्स गरी कुल ४ अर्ब ७५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएको थियो । अहिले भारतको नयाँ नीति पूर्ण रूपमा लागू भए नेपालको कुनै पनि चिया उद्योग टिक्न नसकने अवस्था सिर्जना भएको उद्योगीहरू बताउँछन् । नेपालको चियाको एक मात्र बिदेशी बजार भारत रहेको चिया उद्योगी दिनेश अग्रवालले बताए । त्यसैले सिंगो चिया क्षेत्रको भविष्य सरकारको कूटनीतिक पहलमा निर्भर रहेको उनले जनाए । हाल नेपालभर २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ । नेपाली चियाको मुख्य बजार भारत नै हो, जहाँ ९० प्रतिशत अर्थोडक्स र झन्डै आधा सिटिसी चिया जाने गर्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो