दमक प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले गरे सपथ

खगेन्द्र कार्की

दमक । दमक नगरपालिकाले गठन गरेको दमक प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूले मंगलबार सपथ ग्रहण गरेका छन् । यससँगै प्रतिष्ठानले अब औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गर्ने बाटो खुलेको छ ।

नगर प्रमुख रामकुमार थापाले प्रतिष्ठानका अध्यक्ष डा. गोपाल भण्डारीलाई सपथ गराए भने अध्यक्ष भण्डारीले अन्य पदाधिकारी र प्राज्ञ सदस्यहरूलाई सपथ ग्रहण गराए । सपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष डा. भण्डारीले “अब देखिने कामको थालनी गरिनेछ” भन्दै प्राज्ञिक क्षेत्रको समृद्धिका लागि सक्रिय हुने प्रतिबद्धता जनाए ।

दमक नगरपालिकाले पुस २५ गते डा. गोपाल भण्डारीको अध्यक्षतामा २७ सदस्यीय प्राज्ञ परिषद् गठन गरेको थियो । नगरपालिकाको जनप्रतिनिधि कार्यकालको डेढ वर्ष मात्र बाँकी रहँदा गठन गरिएको यस परिषद् नगरको साहित्यिक, सांस्कृतिक र बौद्धिक उन्नयनका लागि काम गर्ने उद्देश्य राखिएको छ ।

सपथ समारोहमा उप–प्रमुख रेगिना भट्टराई प्रसाईको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडा नं. ९ का वडाध्यक्ष कुवेर भट्टराई, शिक्षा समिति र सामाजिक विकास शाखाका प्रतिनिधिहरूको सहभागिता थियो । नगर प्रमुख थापा, उप–प्रमुख भट्टराई र अन्य अतिथिहरूले नवगठित प्राज्ञ परिषद्लाई शुभकामना दिएका थिए ।

कार्यक्रममा २७ मध्ये १७ जना प्राज्ञहरूको उपस्थिति रहेको शिक्षा शाखा प्रमुख प्रविण खड्काले जानकारी दिए । उनले कार्यक्रममा सञ्चालन पनि गरेका थिए ।

सचिव जयबहादुर श्रेष्ठले दमकको साहित्यिक तथा प्राज्ञिक उन्नयनमा प्रतिष्ठानलाई सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता जनाए ।

खगेन्द्र कार्की
प्रतिक्रिया