कोशी नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

फाष्ट मिडिया नेपाल संवाददाता

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

आइतबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीको सिफारिशमा प्रदेश प्रमुख खापुङले रामबहादुर राना मगर र शमशेर राईलाई मन्त्री नियुक्त गरेका छन् । दुवै जनालाई विनाविभागीय मन्त्री नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्री राना मगर नेकपा ९एमाले०तर्फबाट र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन्।

यससँगै नवनियुक्त मुख्यमन्त्री कार्कीले मध्यावधि चुनावको सम्भावना टरेकोमा खुसी व्यक्त गर्दै सहमतिको सरकार बनाउने बताएका छन्।

‘अब कोशीमा मध्यावधिको सम्भावना टरेको , प्रदेशसभा विघटन नहुने भएको छ,’ आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका छन् ।

कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया