नागरिक–प्रहरी सहकार्यले बलियो बन्दै ट्राफिक व्यवस्थापन : इटहरी ट्राफिकलाई दियो ६४ ट्राफिक कोन

खगेन्द्र कार्की

इटहरी । नेपालमा पछिल्लो समय सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सरकारी निकायसँगै निजी क्षेत्र, सहकारी संस्था र सामाजिक संघ–संस्थाको सहभागिता उल्लेख्य रूपमा बढ्न थालेको छ। विशेषगरी २०८२ सालको भदौ २३/२४ जेनजी विद्रोहपछि क्षतिग्रस्त सुरक्षा पूर्वाधार पुनःनिर्माण, आवश्यक उपकरण उपलब्ध गराउनेदेखि ट्राफिक व्यवस्थापनमा प्रयोग हुने सामग्री हस्तान्तरणसम्म निजी क्षेत्रले सहकार्य बढाएको देखिन्छ।
यही क्रममा विभिन्न संघ–संस्थाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीलाई ६४ थान ट्राफिक कोन उपलब्ध गराएका छन्। लेन अनुशासन कायम गर्दै सुरक्षित र व्यवस्थित सवारी सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो।
कार्यालयका अनुसार ती ट्राफिक कोन सडकमा लेन अनुशासन कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न, सवारी साधनको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रयोग गरिनेछ।
इटहरी भेट्रान क्लब, किसान कल्याण बचत तथा ऋण सहकारी संस्था, पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था, शुभलाभ बचत तथा ऋण सहकारी संस्था, प्रशोधित पिउने पानी उद्योग तथा माछापुच्छ्रे इन्जिनियरिङले संयुक्त रूपमा ती सामग्री उपलब्ध गराएका हुन्। सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिले कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीलाई ट्राफिक कोन हस्तान्तरण गरेका थिए।
पछिल्लो समय निजी क्षेत्रबाट सुरक्षासम्बन्धी सामग्री सहयोग गर्ने क्रम बढ्दो छ। जेनजी विद्रोहका क्रममा विभिन्न स्थानमा ट्राफिक पोस्ट, सुरक्षा ब्यारिकेड, संकेत बोर्ड तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय तह, व्यवसायी, सहकारी तथा सामाजिक संस्थाहरूले सहयोग गर्दै आएका छन्।
सुरक्षा विज्ञहरूका अनुसार ट्राफिक कोन, ब्यारिकेड, संकेत बोर्ड, सोलार बत्ती, सीसीटीभी जस्ता आधारभूत सामग्रीले सडक सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता सहयोगले प्रहरीको कार्यसम्पादनलाई सहज बनाउने अपेक्षा गरिएको छ। सीमित सरकारी स्रोत–साधनका बीच स्थानीय समुदाय र निजी क्षेत्रको सहभागिताले सुरक्षा पूर्वाधारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले पनि समुदायसँगको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने जनाएको छ। कार्यालयका अनुसार नागरिक, निजी क्षेत्र र प्रहरीबीचको साझेदारीले ट्राफिक अनुशासन, दुर्घटना न्यूनीकरण र सुरक्षित सडक संस्कृतिको विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।


खगेन्द्र कार्की
प्रतिक्रिया