अस्प्तालबाटै नवजात शिशु गायव, चिकित्सकसहित दुई जना पक्राउ

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । अवैध सम्बन्धबाट जन्मेको नवजात शिशु अस्पतालबाटै गायव भएको छ । विराटनगरस्थित ग्रिनक्रस अस्प्तालमा जन्मिएको उक्त बच्चा हराएपछि कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्व मेसु)सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु हस्पिटलबाट हराएपछि मोरङ प्रहरीले स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा। तपेश्वरलाल कर्ण सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्ने डा। कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए । राई २६ बर्सिया किशोरीका प्रेमी हुन् । असार १३ गते किशोरीले ग्रिनक्रस हस्पिटलमा नवजात शिशु छोरीलाई जन्म दिएकी थिइन् । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइन् ।

दुई जनाबिचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डाक्टर कर्णको हो ।  सरकारी सेवाबाट अवकाश पाएका उनले दीपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् ।

उनले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ ।अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया