पाकिस्तानमा भारी वर्षा र चट्याङबाट २८ को निधन, ४० बढी घाइते

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल एजेन्सी

इस्लामावाद। पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा को बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन् । बाढीका कारण ६९ घरमा आंशिक क्षति भएको । पाकिस्तानी प्रसारण संस्था जियो न्युजले जनाएको छ ।

प्राधिकरणका अनुसार करकमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वर्षाका कारण डेरा इस्माइल खानमा एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बाढी प्रभावित खैबर पख्तुनख्वाका सबै क्षेत्रमा खोजी तथा उद्धार जारी छ । पीडितहरूलाई राहत सामग्री उपलब्ध गराइएको तथा त्यो अहिले जारी रहेको उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ । आँधीबेहरीसहितको भारी वर्षाले पञ्जाब प्रान्तका धेरै क्षेत्रमा भौतिक क्षति भएको छ । प्रान्तका सरगोधा, गुजरनवाला, फैसलाबाद अधिक प्रभावित भएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया