सरोज न्यौपाने मृत्यु प्रकरणः बुबा, सौतेनी आमा र दुई काका पाँच दिन हिरासतमा

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिका–९ भद्रटोलमा डेरा गरी बस्दै आएका तथा जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा पक्राउ परेका उनका बुबा, सौतेनी आमा र दुई काकालाई अदालतले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई निरन्तर शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धिसागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ। सोही आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सरोजको मृत्यु सार्वजनिक भएपछि घटनाले इटहरीमा व्यापक चर्चा र आक्रोश निम्त्याएको थियो। मावली पक्षलाई जानकारी नै नदिई शव दाहसंस्कार गर्न लागिएको भन्दै उनका साथीहरू र विद्यार्थीहरूले विरोध जनाउँदै शव नियन्त्रणमा लिएका थिए। उनीहरूले सरोजलाई आफ्नै परिवारको शारीरिक तथा मानसिक यातनाका कारण आत्महत्या गर्न बाध्य पारिएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका थिए।

विद्यार्थीहरूले सरोज बस्दै आएको घर घेराउ गर्दै घटनाको सूक्ष्म अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही र सत्यतथ्य सार्वजनिक गर्न माग गरेपछि आन्दोलन चर्किएको थियो। त्यसपछि प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको हो। सरोजको शव थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।

बुधबार साँझ आयोजित श्रद्धाञ्जली र्‍याली तथा कोणसभामा विद्यार्थीहरूले निष्पक्ष अनुसन्धान नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका थिए। उनीहरूले सरोजको आँखामा देखिएको चोटलाई प्रारम्भिक अनुसन्धानमा प्रहरीले गम्भीर रूपमा नलिएको आरोप लगाउँदै आन्दोलनपछि मात्रै पक्राउ प्रक्रिया अघि बढाइएको भन्दै प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

बिहीबार पनि विद्यार्थीहरू इटहरीको मुख्य चोकमा प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले सरोजलाई न्याय दिलाउन, पक्राउ परेकाहरूलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन र अनुसन्धान निष्पक्ष रूपमा सम्पन्न गर्न माग गरे। त्यसक्रममा उनीहरूले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर दोषीमाथि कडा कानुनी कारबाही सुनिश्चित गर्न पहल गरिदिन आग्रह गरेका थिए।

मेयर पौडेलले सरोजको मृत्यु अत्यन्त दुःखद घटना भएको उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको र कानुनी प्रक्रियामा उपमहानगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया