इटहरी ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि बुधबारदेखि देशभर नेपाली सेना परिचालित गरिएको छ।
सरकारले स्वीकृत गरेको निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ बमोजिम सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका हुन्।
गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा सेनाबाट करिब ८० हजार, नेपाल प्रहरीबाट ७१ हजार, सशस्त्र प्रहरीबाट ३५ हजार, र राष्ट्रिय अनुसन्धान विभागबाट २ हजार जनशक्ति खटाइँदैछ। साथै, १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी पनि परिचालनमा रहनेछन्, जसमा १ लाख ३३ हजार ९ सय ८० जना नेपाल प्रहरीमार्फत र १५ हजार १ सय १० जना सशस्त्र प्रहरी मातहत रहनेछन्।
निर्वाचनका लागि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सेना परिचालन भएको सेनाले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा गत मङ्सिर ११ गते सेनालाई निर्वाचन सुरक्षामा सहभागी गराउने स्वीकृति दिएका थिए।
सुरक्षा व्यवस्थापन अनुसार —
मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन्।
दोस्रो तहको सुरक्षा सशस्त्र प्रहरी बलले सम्हाल्नेछ।
बाहिरी सुरक्षा घेरा र महत्वपूर्ण संरचनाको सुरक्षा नेपाली सेनाको जिम्मेवारीमा रहनेछ।
सेनाले आवश्यकताअनुसार देशभर ‘वेस’ स्थापना गरी संयुक्त गस्ती सञ्चालन गर्नेछ। मतपत्र छपाइ, ढुवानी, मतदानस्थल, मतपेटिका ढुवानी र मतगणनास्थलसम्मको सुरक्षा पनि सेनाको मुख्य दायित्वमा पर्छ।
यसैबीच, गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई ‘हाई अलर्ट’८८मा रहन निर्देशन दिएको छ। गृह सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा आयोजना गरिएको ‘भर्चुअल’ बैठकमार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन सुरक्षा कार्ययोजनाअनुसार काम गर्न भनिएको हो।
निर्वाचन सुरक्षाका लागि केन्द्रदेखि जिल्लासम्म केन्द्रीय सुरक्षा समिति, प्रादेशिक कमान्ड पोस्ट र जिल्ला सुरक्षा समिति गठन गरिएका छन्।
सुरक्षाकर्मीहरूलाई सवारी तथा पैदल गस्तीका साथै सादा पोसाकमा पनि तैनाथ गरिनेछ।
यस पटकको निर्वाचनमा समानुपातिक तर्फ ३,१३७ र प्रत्यक्षतर्फ ३,४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो