इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी नेतृत्वमा आएको १२ वर्षपछि पहिलोपटक सचिवालय बैठकमा अल्पमतमा परेका छन् । जेठ ४ देखि १० गतेसम्म चलेको सचिवालय बैठकमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषयमा अधिकांश पदाधिकारी खुलेपछि ओली रक्षात्मक बन्न पुगेका हुन्। २०७१ सालदेखि अध्यक्ष रहेका ओलीले आफ्नै टोलीबाट राजीनामाको माग सामना गरेको यो पहिलो घटना हो ।
जेठ ८ गतेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्षले ओलीको नेतृत्व असफल भएको निष्कर्ष निकाल्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याएपछि एमालेभित्र नयाँ शक्ति–सन्तुलन देखिएको हो । ओलीका निकट मानिएका महासचिव शंकर पोखरेलले समेत प्रत्यक्ष रूपमा राजीनामा शब्द प्रयोग नगरे पनि अब ओलीबाट पार्टी अगाडि बढ्न नसक्ने संकेत दिएका थिए। सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतबाहेक कसैले ओलीको स्पष्ट बचाउ नगरेको नेताहरू बताउँछन् ।
बैठकमा सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएका नेता उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ थिए। उनले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै ओलीको कार्यशैलीमाथि प्रश्न उठाएपछि बैठक तनावपूर्ण बनेको थियो । त्यसक्रममा ओलीले आफूलाई नेतृत्व छाड्न कसैले दबाब दिन नसक्ने र सहमति नभए पनि पद नछाड्ने अडान लिएका थिए। सचिवालयका एक सदस्यका अनुसार शुक्रबार र शनिबार ओली निकै आक्रामक देखिए पनि आइतबारसम्म आइपुग्दा उनी नरम बनेका थिए ।
शनिबारको बैठकमा गुरुङले राजीनामाको विषय उठाएपछि ओलीले नेतृत्वविरुद्ध बोल्नेहरूलाई माफी माग्न वा कारबाही सामना र्न चेतावनी दिएका थिए । सचिव महेश बस्नेतले ओलीको राजीनामा माग्नेहरूलाई “अपराधी”को संज्ञा दिएका थिए। त्यसको प्रतिवाद गर्दै गुरुङले एमाले कुनै व्यक्तिको “प्राइभेट कम्पनी” नभएको टिप्पणी गरेका थिए ।
तर आइतबारको बैठकमा ओलीको स्वर बदलिएको थियो । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने, कार्यकर्ताको मनोबल उकास्नुपर्ने र सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। नेताहरूका अनुसार नेतृत्वमाथि व्यापक असन्तुष्टि देखिएपछि ओली लचिलो बन्न बाध्य भएका हुन् ।
तीन दिनसम्म चलेको सचिवालय बैठकले सरकारको स्वेच्छाचारिताविरुद्ध आवाज उठाउने, पदाधिकारीहरूको वरीयता निर्धारण गर्ने लगायतका निर्णय गरे पनि सबैभन्दा महत्वपूर्ण निर्णय पार्टी पुनर्गठन कार्यदल गठनलाई मानिएको छ । ओली यस्तो कार्यदल गठनको पक्षमा नरहेको बताइए पनि बहुमत नेताहरूको दबाबपछि कार्यदल बनाइएको हो ।
रामबहादुर थापा संयोजक रहेको कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायत नेता सहभागी छन्। कार्यदलमा अधिकांश सदस्य ओलीको विकल्प खोज्नुपर्ने धारणा राख्ने पक्षका रहेको बताइन्छ। एमालेका एक पदाधिकारीका अनुसार पार्टी पुनर्गठनको एजेन्डा अब औपचारिक रूपमा प्रवेश गरिसकेको छ र सचिवालयका अधिकांश सदस्य ओलीबाट पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेका छन् ।
यद्यपि सचिव महेश बस्नेतले भने बैठकपछि ओलीकै नेतृत्वमा पार्टीलाई सशक्त बनाउने निर्णय भएको दाबी गरेका छन्। उनले नेतृत्व परिवर्तनको बहसलाई “मिडिया ट्रायल” भन्दै अस्वीकार गरे। तर ओलीको विकल्प खोजिरहेका नेताहरूले भने नेतृत्व यथावत् राख्ने कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।
यसैबीच सचिवालय बैठकले पहिलो दिनमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको थियो । यसअघि पार्टीले नै गणतन्त्रको गौरव र संविधानको रक्षक बनेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै उनको सदस्यता नवीकरण रोकेको थियो। तर यसपटक ओलीले नै प्रस्ताव ल्याएपछि बिना विरोध सदस्यता नवीकरण गरिएको हो ।
एमालेभित्रका केही नेताहरूले ओलीले आफ्नो वर्तमान संकट टार्न र भविष्यमा नेतृत्व हस्तान्तरणको सम्भावना खुला राख्न भण्डारीलाई पुनः सक्रिय बनाएको विश्लेषण गरेका छन्। तर पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेकाले त्यो रणनीति सफल हुने सम्भावना कमजोर देखिएको नेताहरूको भनाइ छ ।
ओलीले भियतनामी नेता हो चि मिन्हको गरे सम्झना
सचिवालय बैठकको समापनमा ओलीले अचानक भियतनाम कम्युनिस्ट पार्टीका सर्वोच्च नेता हो चि मिन्हलाई सम्झिएका छन् । आफ्नै निवास गुन्डुमा ६ दिनसम्म चलेको बैठक आइतबार समापन गर्नुअघि उनले भियतनामका कम्युनिस्ट नेता मिन्हको भनाइ उद्धृत गर्दै एकताबद्ध हुन एमाले नेताहरूलाई आह्वान गरेका थिए ।
मिन्हको भनाइ ‘एकता एकता, महाएकता’को प्रसङ्ग उठाउँदै ओलीले नेताहरूलाई एकजुट हुन आह्वान गरे । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले ठुलो धक्का खाएपछि आन्तरिक र बाह्य रूपमा रक्षात्मक अवस्थामा पुगेका ओलीले मिन्हको भनाइ उद्धृत गर्नु अर्थपूर्ण देखिन्छ ।
ओलीको खम्बा बने सचिव बस्नेत
नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै सचिव महेश बस्नेतले आक्रामक धारणा राखेका छन् । उनले भनेका छन( अवसरवादी बनेर अध्यक्षलाई आफ्नो स्वार्थका लागि दुःख दिने, अतिरिक्त पद र भूमिका खोज्ने राजनीति म गर्दिनँ । अध्यक्षको संरक्षण र सपोर्ट गर्दा परेछ भने बरू राजनीति नै छाडेर बस्न तयार छु । घात गर्न सक्दिनँ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो