इटहरी । लामो प्रतीक्षा र वर्षौंको तयारीपछि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आज रातिदेखि औपचारिक रूपमा सुरु हुँदैछ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा यसपटक ४८ टोली सहभागी हुँदै छन्, जसले यसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण बनाएको छ।
३९ दिनसम्म चल्ने प्रतियोगितामा १६ रंगशालामा कुल १०४ खेल खेलाइनेछन्। फिफाले पहिलो पटक ३२ टोलीको पुरानो संरचनालाई विस्तार गर्दै ४८ टोलीको नयाँ ढाँचा लागू गरेको हो। यससँगै समूह चरण विस्तार हुनुका साथै नकआउट चरणमा ‘राउन्ड अफ ३२’ समेत थपिएको छ।उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ, जहाँ आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। आजै समूह ‘ए’ अन्तर्गत दक्षिण कोरिया र चेक गणतन्त्रबीच पनि प्रतिस्पर्धा हुनेछ। क्यानडा र अमेरिका भने भोलिदेखि आफ्नो अभियान सुरु गर्नेछन्।
उद्घाटन खेलअघि मेक्सिको सिटीमा भव्य सांगीतिक समारोह आयोजना गरिनेछ। समारोहमा विश्वप्रसिद्ध गायक एन्द्रेया बोचेली तथा मेक्सिकन कलाकार अलेजान्ड्रो फर्नान्डेज र मानाको प्रस्तुति रहनेछ।
यस संस्करणका लागि अमेरिका, मेक्सिको र क्यानडाका १६ सहरलाई खेलस्थल बनाइएको छ। सबैभन्दा धेरै ७८ खेल अमेरिकामा हुनेछन् भने क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलसमेत अमेरिकामै आयोजना गरिनेछ। जुलाई १९ मा न्यू जर्सीको मेटलाइफ रंगशालामा फाइनल खेल हुनेछ।
प्रतियोगितामा सहभागी ४८ टोलीमा कुल १,२४८ खेलाडी समावेश छन्, जुन विश्वकप इतिहासकै उच्च संख्या हो। उनीहरू ७१ देशका ४४९ क्लबबाट आएका छन्। ३५७ खेलाडीसँग विश्वकप अनुभव छ भने ८९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दै छन्।
उपाधिका लागि ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन, जर्मनी र इंग्ल्यान्डलाई प्रमुख दाबेदार मानिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेसीले इतिहासमै दुर्लभ छैटौं विश्वकप खेल्ने अवसर पाएका छन्।
विश्वकपले खेलकुदमात्र होइन, आर्थिक क्षेत्रमा पनि नयाँ कीर्तिमान बनाउने अपेक्षा गरिएको छ। अनुमानअनुसार प्रतियोगिताबाट करिब ८० अर्ब डलरभन्दा बढी आर्थिक गतिविधि सिर्जना हुनेछ। यद्यपि अत्यधिक महँगा टिकट र बिक्री रणनीतिका कारण फिफा आलोचनाको केन्द्रमा पनि परेको छ।
फुटबलप्रेमीहरूको नजर अब आगामी ३९ दिन विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवतर्फ केन्द्रित हुनेछ।
खगेन्द्र कार्की
२८ जेठ २०८३, बिहिबार ०९:२९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो