
काठमाडौँ । बाढीबाट प्रभावित रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा सहयोग गर्न भारतबाट विशेष सुरुङ उद्धार र फरेन्सिक विज्ञ टोली नेपाल आइपुगेको छ।भारतले राहत सामग्रीसँगै ११ सदस्यीय विशेष सुरुङ उद्धार टोली नेपाल पठाएको हो। टोलीले रसुवाका प्रभावित क्षेत्रमा पुगेर सुरुङको अवस्था, भित्र रहेको हिलो तथा अवरोध र उद्धारका सम्भावित उपायबारे प्राविधिक अध्ययन थालेको छ।भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा काम गरिरहेका नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। सुरुङमा पानी, हिलो र भग्नावशेष जमेकाले उद्धार कार्य अत्यन्त जोखिमपूर्ण र जटिल बनेको छ।भारतबाट आएको टोलीले नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य उद्धार निकायसँग समन्वय गरी प्रभावित सुरुङको प्राविधिक निरीक्षण तथा उद्धार योजनामा सहयोग गर्नेछ। आवश्यकताअनुसार विशेष उपकरण र थप प्राविधिक सहयोग परिचालन गर्ने तयारीसमेत गरिएको छ।यसैगरी, शव पहिचानका लागि भारतले फरेन्सिक विज्ञ टोलीसमेत पठाएको छ। बाढीपछि विभिन्न नदी तथा तटीय क्षेत्रमा ठूलो संख्यामा पहिचान हुन नसकेका शव भेटिएकाले डीएनए परीक्षण तथा अन्य फरेन्सिक विधिबाट पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारतले फरेन्सिक टोली परिचालन गरेको पुष्टि भारतीय विदेश मन्त्रालयसम्बन्धी विवरणमा पनि गरिएको छ।बाढीबाट प्रभावित क्षेत्रमा भेटिएका कतिपय शव लामो समय पानी र हिलोमा परेकाले सामान्य प्रक्रियाबाट पहिचान गर्न कठिन भइरहेको छ। त्यसैले शवबाट डीएनए नमूना संकलन गरी सुरक्षित राख्ने र सम्भावित आफन्तको डीएनएसँग मिलान गर्ने प्रक्रिया अघि बढाइएको छ। पहिचान खुलेपछि कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई हस्तान्तरण गरिनेछ।भारतले विज्ञ टोलीसँगै राहत तथा उद्धार सामग्री पनि नेपाल पठाएको छ। पछिल्ला हवाई उडानमार्फत आवश्यक राहत सामग्री, उद्धार उपकरण तथा प्राविधिक सामग्री नेपाल ल्याइएको हो। भारतका विभिन्न उडानबाट हालसम्म ६८ टनभन्दा बढी राहत सामग्री नेपाल आइपुगेको विवरण सार्वजनिक भएको छ।नेपालले सुरुङ उद्धार, पूर्वाधार पुनःस्थापना तथा फरेन्सिक पहिचानजस्ता विशेष प्राविधिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग मागेपछि भारत र चीनका विज्ञ टोली नेपाल आएका हुन्। चीनबाट पनि सुरुङ उद्धार विशेषज्ञ टोली प्रभावित क्षेत्रमा परिचालित भएको छ।बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता तथा सम्पर्कविहीन रहेकाले नेपाली सुरक्षा निकायले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्। विदेशी विज्ञ टोलीको प्राविधिक सहयोगले विशेषगरी सुरुङभित्र फसेकाको खोजी, जोखिम मूल्याङ्कन, उद्धार प्रविधि र पहिचान हुन नसकेका शवको वैज्ञानिक पहिचानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
१४ भदौ २०८३, अाईतबार ०८:३६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो