रास्वपा महाधिवेशनले नजिक्यायो गगन–रवि सम्बन्ध, कांग्रेस–रास्वपा समीकरणबारे बढ्यो राजनीतिक चासो

खगेन्द्र कार्की

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन केवल संगठनात्मक कार्यक्रमका रूपमा सीमित रहेन, यसले पछिल्ला वर्षहरूमा चिसिएको नेपाली कांग्रेस र रास्वपाबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने संकेतसमेत दिएको छ। विशेषगरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपा सभापति रवि लामिछानेबीच देखिएको सार्वजनिक सौहार्दताले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ।

सहकारी ठगी प्रकरणका क्रममा रवि लामिछानेमाथि आक्रामक रूपमा प्रस्तुत भएका गगन थापाले प्रमाणका आधारमा जवाफ दिनुपर्ने भन्दै लगातार दबाब सिर्जना गरेका थिए। त्यसबेला गगन र रविबीचको सम्बन्ध निकै चिसिएको देखिएको थियो। तर चितवनमा आयोजित रास्वपाको महाधिवेशनमा गगनको उपस्थितिले मात्र होइन, रवि लामिछानेसँगको आत्मीय व्यवहारले पनि दुई नेताबीचको दूरी घटेको संकेत दिएको छ।

महाधिवेशन उद्घाटन समारोहमा रवि लामिछानेले गगन थापालाई अँगालो मारेर स्वागत गरेका थिए। राजनीतिक रूपमा प्रतिस्पर्धी भए पनि व्यक्तिगत र लोकतान्त्रिक सम्बन्ध कायम रहेको सन्देश दिन खोजिएको रूपमा यसलाई हेरिएको छ। अझ सत्ता पक्ष र विपक्षका धेरै शीर्ष नेता अनुपस्थित रहेका बेला कांग्रेस सभापति स्वयं उपस्थित हुनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

शुभकामना मन्तव्यका क्रममा गगन थापाले कांग्रेस र रास्वपा प्रतिस्पर्धी भए पनि दुश्मन नरहेको स्पष्ट पारे। “हामी अग्लो बन्ने अभियानमा छौँ। तर तपाईंहरूको खुट्टा काटेर होइन, आफ्नैभित्रका दुर्गन्ध हटाएर पहिलो हुन चाहन्छौँ,” उनले भने। उनले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको पक्षमा आफूहरू रहेको बताउँदै सरकारका राम्रा काममा कांग्रेसले समर्थन गर्ने धारणा राखे।

थापाले रास्वपाका नेता तथा कार्यकर्तालाई पार्टीभित्र व्यक्तिपूजाको संस्कार विकास नगर्न पनि सुझाव दिए। “हामीले भगवान् र बा बनाएर गल्ती गर्‍यौँ। तपाईंहरूले यस्तो नगर्नुहोला,” भन्दै उनले नेतृत्वलाई प्रश्न गर्न सक्ने लोकतान्त्रिक संस्कार विकास गर्न आग्रह गरे।

राजनीतिक विश्लेषकहरूका अनुसार गगन थापाको उपस्थितिले कांग्रेसप्रति बढ्दो वितृष्णा कम गर्ने र युवा पुस्तामाझ पार्टीको सकारात्मक सन्देश प्रवाह गर्ने प्रयाससमेत देखिएको छ। पछिल्लो समय युवा मतदाता र परिवर्तन चाहने वर्गमा रास्वपाको प्रभाव बढिरहेका बेला गगनले टकरावको सट्टा संवाद र प्रतिस्पर्धाको बाटो रोजेको सन्देश दिएका छन्।

यद्यपि यसलाई तत्कालीन राजनीतिक गठबन्धन वा सहकार्यको संकेतका रूपमा भने हेरिएको छैन। कांग्रेस र रास्वपा आगामी निर्वाचनमा प्रतिस्पर्धी शक्तिका रूपमा रहने निश्चित भए पनि लोकतान्त्रिक मूल्य, सुशासन र राजनीतिक सुधारका एजेन्डामा दुवै दलबीच संवादको वातावरण बन्न सक्ने सम्भावना महाधिवेशनले देखाएको छ।

चितवनमा देखिएको गगन–रवि संवाद र कांग्रेस–रास्वपा सम्बन्धको नयाँ चित्रले नेपाली राजनीतिमा टकरावभन्दा सहअस्तित्व र स्वस्थ प्रतिस्पर्धाको संकेत दिएको विश्लेषण भइरहेको छ। महाधिवेशनको मञ्चबाट व्यक्त सन्देशहरूले आगामी दिनमा यी दुई राजनीतिक शक्तिबीचको सम्बन्धलाई थप रोचक बनाउने निश्चित देखिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया