यौन श्रमिक महिलालाई एचआईभी तथा यौनजन्य संक्रमणबारे सचेतना, स्वास्थ्य परीक्षणमा जोड

सुप्रिया राई

इटहरी । महिला सहयोगी समूह इटहरीको आयोजनामा यौन श्रमिक महिलाहरूलाई लक्षित गर्दै यौन तथा यौनजन्य संक्रमित रोग र एचआईभी सम्बन्धी अनिवार्य स्वास्थ्य परीक्षणका लागि प्रोत्साहन अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहजीकरण गर्दै कासीराम पोखरेलले विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै विश्वभर प्रत्येक दिन करिब १० लाखभन्दा बढी नयाँ यौनजन्य संक्रमणका घटना देखिने गरेको जानकारी दिए। उनले एचआईभी संक्रमणका कारण उत्पन्न हुने समस्या, रोगबाट बच्ने उपाय, यौनजन्य रोगका प्रकार तथा त्यसको रोकथामका उपायबारे सहभागीलाई जानकारी गराएका थिए।

त्यसैगरी मानव कल्याण समाज इटहरीका प्रमुख देवनारायण चौधरीले एचआईभी कुनै पनि व्यक्तिलाई हुन सक्ने भएकाले व्यक्तिको रूपरङ्ग हेरेर संक्रमणको अवस्था थाहा नहुने बताए। उनले स्वास्थ्य परीक्षणमार्फत मात्र संक्रमण पहिचान गर्न सकिने र संक्रमित व्यक्तिहरूका लागि आवश्यक रोकथाम तथा उपचारका औषधि उपलब्ध रहेको जानकारी दिए।

कार्यक्रममा सुनसरी जिल्लाका १७ जना महिलाको सहभागिता रहेको थियो। महिला सहयोगी समूहकी प्रमुख बिमला मल्लका अनुसार कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग टेवाले प्रदान गरेको थियो।

कार्यक्रमले यौन श्रमिक महिलाहरूमा एचआईभी तथा यौनजन्य रोग सम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै नियमित स्वास्थ्य परीक्षणप्रति उत्प्रेरित गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

सुप्रिया राई
प्रतिक्रिया