विराटनगर । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या सात सय ८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २ सय ६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १ सय ९४ जना र नवलपरासी पश्चिममा १ सय २० जनाको शव फेला परेको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म २५ सय दुई जना सम्पर्कविहीन छन् ।नेपाल प्रहरी २५ जना, नेपाल सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवामा ५ सय ६२ जना, नुवाकोटमा १ सय १५ जना, जलविद्युत आयोजनाबाट ९ सय ३३ जना, मकवानपुरबाट ६५ जना, विदेशी नागरिक ५९ जना, विदेशी पर्यटकसँग घुम्न गएका १ सय २७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार हालसम्म आठ हजार ७ सय ३० जनाको उद्धार भएको छ ।१५ हजार बढी अझै बेपत्ता भएको सरकारी तथ्यांकगत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको सरकारी तथ्यांकले विपद्को भयावह अवस्था देखाएको छ । सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको पछिल्लो अभिलेखअनुसार १५ हजार ३ सय २९ जना अझै हराइरहेका छन् । हालसम्म २ हजार ५ सय ७ जना फेला परेको विवरण पोर्टलमा उल्लेख छ भने १ हजार ८ सय ८ जनाको भेट तथा समस्या समाधान भएको जनाइएको छ । बेपत्ता हुनेमा बालबालिकाको संख्या पनि ठूलो छ । अभिलेखअनुसार १८ वर्षमुनिका ६७६ बालबालिका र ६० वर्षभन्दा माथिका ४ सय ९ ज्येष्ठ नागरिक अझै हराइरहेका छन् ।पोर्टलमा पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३ सय ३० जनासम्बन्धी हराएको विवरण रिपोर्ट भएको देखिन्छ । यसले बाढी प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिसको अवस्था अज्ञात रहेको संकेत गर्छ । बाढीका कारण कतिपय बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् भने बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी छ ।प्रधानमन्त्री राहतकोषमा राष्ट्रिय दलको योगदानरसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति न्युनिकरण तथा पुननिर्माणमा योगदान पु¥याउन राष्ट्रिय दलहरुले धमाधम रकम घोषणा गरिरहेका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख दिने घोषणापछि नेपाली कांग्रेसले १ करोडको घोषणा गरेको छ । ति दलहरुले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने जनाएका छन् । कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।यसैगरी नेकपा एमालेले २० लाख रुपैयाँ दिने घोषणा गरेको छ भने नेकपा माओवादीले २५ लाख दिने घोषणा गरेको छ । यता सबैभन्दा कान्छो श्रम संस्कृति पार्टीले पनि १५ लाख जम्मा गर्ने घोषणा गरेको छ । झापाको सहारा सहकारीको १५ लाख सहयोगभोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु १५ लाख सहयोग गर्ने भएको छ । सहारा नेपाल (साकोस) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार ‘मेरो गौरव, मेरो सहारा, सबैका लागि सधैँका लागि’ भन्ने नारासहित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको हो ।झापाली समाजको १५ लाख सहयोगभोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग गर्ने भएको छ । समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए । समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र पुनः स्थापनामा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ । समाजका राष्ट्रिय समिति विश्वका ४० भन्दा बढी मुलुकमा सक्रिय छन् ।चीनबाट राहत सामग्री आइपुग्योचीनबाट ५० टन आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ । राहत सामग्री बोकेका दुईवटा ढुवानी विमान आज नेपाल आइपुगेको हो । राहत सामग्रीमा टेन्ट, कम्बल, स्लीपिङ ब्याग, खाद्य सामग्री तथा प्राथमिक उपचारका सामग्री रहेका छन्। साथै, ४ जना सुरुङ (टनेल) विशेषज्ञ पनि नेपाल आएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बताए ।गोरखगणले निकल्यो ७२ शवप्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको टोली विपद्को समयमा शव खोजी तथा उद्धार कार्यमा सक्रिय बनेको छ ।गणपति राजेन्द्र बानियाँको नेतृत्वमा खटिएको नयाँ गोरख गणको टोलीले यस क्षेत्रमा हालसम्म ७२ वटा शव निकाल्न सफल भएको जनाएको छ ।विपद्का कारण बेपत्ता भएका तथा नदी–खोलामा बगेका व्यक्तिको खोजीका लागि नेपाली सेनाले उपलब्ध प्रविधि र जनशक्तिको प्रभावकारी प्रयोग गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको हो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण तथा सुरक्षामा नियमित रूपमा खटिँदै आएको नयाँ गोरख गणले विपद्को समयमा समेत स्थानीय नागरिकको उद्धार, शव खोजी तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । निकुञ्ज संरक्षणसँगै विपद्मा परेका नागरिकको उद्धार र मानवीय सेवामा समेत सेना जनताको साथमा रहेको सन्देश नयाँ गोरख गणको सक्रियताले दिएको छ ।
१५ भदौ २०८३, सोमबार ०९:१५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो