नक्कली नोटको बिगबिगी, पाँच सय र हजारका नोट नक्कली भएको पुष्टि

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । सुनसरीस्थित इटहरीको आँपगाछीमा लागेको मेलामा फेला परेका पाँच सय हजारका नक्कली नोटको काण्ड सेलाउन नपाउँदै आज काठमाडौंको गोकर्णेश्वर नगरपालिकासम्म पुगिसकेको छ । नेपाल प्रहरीको प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नयाँबस्तीबाट सामग्री किनबेचमा नक्कली नोट प्रयोग भएको सूचनाका आधारमा २ जनालाई नियन्त्रणमा लिएको छ । जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई नक्कली नोटसहित पक्राउ गरी प्रहरीले आज (शनिवार) सार्वजनिक गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले प्रिन्ट गरेको काट्न बाँकी एक हजारको नोट एक सय २६ थान, तयारी ५०० को नोट दुई थान, प्रिन्ट गरेको काट्न बाँकी ५०० को नोट ६० थान, प्रिन्ट मेसिन एक थान, प्रयोग गरिसकेको रिचार्ज कार्ड एक चार थान, कृषि विकास बैँकको चेकबुक एक थान, नागरिकता एक थान, फोटोकपी पेपर एक रिम र दुईथान मोबाइल बरामद गरेको छ ।

ती व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२२ बमोजिम मुद्रासम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिए । सुनसरी इटहरीस्थित आँपगाछीको मेलाबाट सुनसरीकै गढी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जमिल खातुन नक्कली नोटसहित पक्राउ परेका थिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया