धरानस्थित बीपीभित्रका समस्या समाधान गर्न धरान मेयर साम्पाङले लेखे मन्त्रीलाई पत्र

फाष्ट मिडिया नेपाल संवाददाता

धरान । कोशी प्रदेशको पहिचानको रुपमा स्थापित भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिनहुँजसो आन्दोलन, धर्ना र जुलुस हुने गरेको छ । स्वास्थ्य संस्थाभित्रका आन्तरिक व्यवस्थापनमा राजनीतिकरण भएपछि खिँचडी बनेको प्रतिष्ठानका निम्ति अन्ततः धरानका मेयर हर्क साम्पाङले मन्त्रीको ध्यानाकर्षण गराउँदै पत्र नै पठाउनुपर्ने अवस्थामा आएको छ । सो प्रतिष्ठानमा उपकुलपतिहरुको अहसक्षमता पटक पटक देखिँदै आएको छ । यस्तै असक्षमता वर्तमान कायमुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमा पनि देखिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई मेयर साम्पाङले समस्याको डंगुुर देखाउँदै पत्राचार गरेका छन् । 

धरान उपमहानगरपालिकाका नगरप्रमुख साम्पाङले मंगलबार मन्त्री मोहनबहादुर बस्नेतलाई प्रेसित गरेको पत्रमा प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर समस्याको हल गरिदिनआग्रह गरिएको छ । 

कायममुकायम उपकुलपति कार्कीले कार्यकारिणी समितिको बैठक डाक्न नसकेको, कर्मचारी र चिकित्सकको माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको, आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सबै अधिकार फिर्ता लिएको, आफू अनुकुलको व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको मेयर साम्पाङले आरोप लगाएका छन ।

प्रतिष्ठानको समस्या समाधानमा चासो नदिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर राईले सोमबार कायम मुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका थिए। प्रतिष्ठानलाई धरासायी बनाउने कुनैपनि पदाधिकारीलाई नछाड्ने भन्दै उनले तालाबन्दी गरेका थिए ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया