विपत्तिमा राजनीति गर्ने समय होइन : लामिछाने

खगेन्द्र कार्की

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको पीडालाई राजनीतिक हतियार बनाएर आरोप–प्रत्यारोप गर्ने र राजनीतिक लाभ लिने समय नभएको बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले विपत्तिका बेला सरकारका कमजोरी औँल्याउनु प्रतिपक्षको अधिकार र कर्तव्य भए पनि राष्ट्रिय पीडालाई राजनीतिक लाभहानिको विषय बनाउन नहुने बताए ।
“म सरकारले गरेका प्रयासमाथि प्रश्नै गर्न हुँदैन, कमजोरी औँल्याउन हुँदैन भन्दिनँ । प्रतिपक्षको रचनात्मक आलोचना लोकतन्त्रमा अधिकार मात्र होइन, कर्तव्य पनि हो । सरकारमाथि प्रश्न गरौँ, जवाफदेहिता मागौँ, कमजोरी सच्याउन दबाब दिऔँ तर राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट हामी कसैलाई छैन । यो विपत्ति कसैका लागि राजनीतिक लाभहानिको विषय बन्नु हुँदैन,” लामिछानेले भने ।
विपत्तिको सुरुवातदेखि नै सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम गरेको लामिछानेले बताए । हवाई उद्धारमा अहिले जस्तो व्यवस्थित र ठूलो अभियान यसअघि बिरलै भएको दाबी गर्दै उनले घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकारको तत्परता रहेको बताए ।
विपत्तिपछि राज्यले भविष्यमा यस्ता घटना दोहोरिन नदिन पूर्वतयारी र सुरक्षित संरचनाको नयाँ खाका बनाउनुपर्ने लामिछानेले बताए । विपत्तिपछि कतिपयले ‘राज्य कहाँ छ रु’ भनेर प्रश्न गरेको उल्लेख गर्दै उनले राज्य भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको बताए ।
विध्वंसमा सर्वस्व गुमाएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको लामिछानेले बताए । निराशामा आक्रोश व्यक्त गर्नु नागरिकको नैसर्गिक अधिकार भएको भन्दै उनले नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र गुहारका रूपमा बुझ्नुपर्ने बताए ।
पीडामा रहेका नागरिकमाथि हुने अमानवीय दुर्व्यवहारमा विज्ञप्तिको औपचारिकता मात्र पूरा नगरी पीडितको पक्षमा उभिन उनले सरकारलाई आग्रह गरे । नागरिकलाई होच्याउने अन्धसमर्थक रास्वपालाई नचाहिने बताउँदै उनले तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङमा संलग्न हुनेलाई पार्टीबाट निष्कासन गरिने चेतावनी दिए ।
“नागरिकको चीत्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठेजवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन । यदि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने छ,” लामिछानेले भने ।
विपत्तिको कामकारबाही प्रभावित नहोस् भनेर आफू प्रभावित क्षेत्रमा नगएको पनि लामिछानेले बताए । व्यक्ति नभई संस्था बलियो हुनुपर्ने पक्षमा आफू रहेको उल्लेख गर्दै उनले रसुवा बाढी प्राकृतिक विपत्ति मात्र नभई जलवायु परिवर्तनसँग जोडिएको सङ्कट भएको बताए ।
लामिछानेले अहिलेको बाढीलाई जलवायुजन्य विपत्ति घोषणा गर्नुपर्ने प्रस्ताव संसद्मा राखे । जलवायु पीडितका रूपमा विश्वसामु न्याय माग्नुअघि क्षतिको प्रमाणित विवरण तयार गर्नुपर्ने भन्दै उनले तथ्य र प्रमाणका आधारमा क्षति तथा हानिको दाबी तयार पारिनुपर्ने बताए । सङ्घीय संसद्का दुवै सदनबाट हिमाली जलवायु तथा विपद्–आपत्कालसम्बन्धी विशेष संसदीय प्रस्ताव पारित गर्नुपर्ने प्रस्तावसमेत उनले गरे ।
सभामा कांग्रेस सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनको उद्देश्यअनुसार काम भए–नभएको समीक्षा आवश्यक रहेको बताए । सुशासन तथा विधिविहीनताविरुद्ध भएको आन्दोलनको उद्देश्य र जेनजी सहिदले परिकल्पना गरेको समाज रूपान्तरणको दिशामा काम भए–नभएको मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले भोटेकोशी बाढीमा सम्पर्कविहीन नागरिकको विवरण अद्यावधिक गर्न माग गरिन् । उद्धारको कामलाई थप प्रभावकारी बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन् । रास्वपा सांसद रचना खतिवडाले जेनजी सहिदले कहिले न्याय पाउने भन्ने प्रश्न गर्दै सरकारको कार्यशैलीमाथि समेत प्रश्न उठाइन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया