स्थानीय, प्रादेशिक र केन्द्रीयसम्मका सक्षेप समाचार

खगेन्द्र कार्की

इटहरी । झापाको दमकमा गाई भैँसीमा हुने बाँझोपन न्यूनीकरणका लागि निःशुल्क घुम्ती शिविर संचालन गरिएको छ । यही जेठ २६ र २७ गतेगरी दुई दिन सम्म पशुपालक किसानका घर घरमा गइ संचालन गरिएको शिविरका क्रममा २५ पशुपालकका घरगोठमा रहेका ४० वटा गाईको बाँझोपनको अवस्था परीक्षण गरिएको दमक नगरपालिका पशुपन्छी विकास शाखाका पशु विकास अधिकृत विपु अधिकारीले जानकारी गराएका छन्  ।
००००
मोरङको बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीलाई औषधी व्यवस्था विभागले शिलबन्दी गरेको छ ।
विराट मेडिकल कलेज अगाडि सञ्चालित उक्त फार्मेसीले बिरामीलाई म्याद गुज्रिएको औषधी बिक्री गरेको र मनोद्विपक औषधीको उचित अभिलेख नराखेको पाइएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो ।
००००
विराटनगरमा भएको ५ औँ एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता उपाधि कोशी मोडेल स्कुल जितेको छ । प्रतियोगिताको फाइनलमा खेलमा कोशी मोडेलले नरग्राम माविलाई  २–१ गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो । कोशीले उपाधिसँगै नगद २५ हजार र उपविजेता बनेको नरग्राम माविले नगद १५ हजारका साथै टूफी प्राप्त गरे । कोशीको जितमा एमडी मासुम नायक बने । उनले २ गोल गर्दै टोलीलाई विजयी बनाए । एक मात्र सान्तवना गोल नरग्रामका लागि समिर बस्नेतले गरे ।
त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी डनबस्को स्कुलका तनोज राजवंशी, सर्वाधिक गोलकर्ता, शारदा बोर्डिङ स्कुलका रौनक चौधरी, उत्कृष्ट गोलरक्षक नरग्राम माविका आरभ माझी, उत्कृष्ट डिफेन्स कोही मोडेलका सुमित सिंह, उत्कृष्ट मिडफिड कोशी मोडलकै निरज चौधरी र उदयमान खेलाडी डनबस्कोका उदेश केसी भए ।
००००
सर्वोच्च अदालतले सिरहाका परीक्षा केन्द्रबाट बरामद गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट नगर्न प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई आदेश दिएको छ । 
मोबाइल फोनहरू पानीमा डुबाएर नष्ट गरिएको भन्दै अधिवक्ता अनिलकुमार साहलगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिरहालगायतका निकायका नाममा आदेश जारी गरेको हो।
०००
कोशी प्रदेश सरकारले  यो आर्थिकवर्ष बजेट बृद्धि गर्ने भएको छ । चालू आर्थिक वर्षका लागि ३६ अरब २ करोड २ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो, आगामी आर्थिक वर्ष ०८३÷८४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।
चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले जानकारी दिए ।
उनले प्रदेश प्रति जनआस्था बढाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताए ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश सभापति पदका लागि ८  जनाले उम्मेदवारी दर्ता गराएका छन् । आकांक्षीहरूको संख्या बढेसँगै नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना टरेको नेताहरुले बताएका छन् । अधिवेशनमा सभापतिका लागि ८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अधिवेशन सम्पन्न गराउन नवराज पुडासैनीको संयोजकत्वमा निर्वाचन समिति बनेको छ ।
०००
वर्षौंदेखि जीर्ण सडकका कारण सास्ती खेप्दै आएका स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सांकेतिक आन्दोलनस्वरूप सडकलाई नै खेत बनाएर धान रोपेका छन् । वर्षायाम सुरु भएसँगै झापाको दमक नगरपालिका–९ र १० जोड्ने सडक पुनः हिलाम्मे बनेपछि स्थानीय बासिन्दाले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।
सडकभरि पानी जमेर खाल्डाखुल्डी परेपछि आवतजावत गर्नै कठिन भएको र पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान नभएपछि स्थानीय धानको बेर्ना बोकेर सडकमा उत्रिएका थिए । उनीहरूले सडकको दुरवस्थाले दैनिक जीवन कष्टकर बनेको भन्दै तत्काल स्तरोन्नति र कालोपत्रेको माग गरेका छन् ।
०००००
झापा कांग्रेसमा कार्यकर्ताहरुको डिजिटल अद्यावधिक गर्ने संख्या मुश्किलले ६० प्रतिशत मात्रै पुग्ने भएको छ । जसबाट झापामा करिव १४ हजार कार्यकर्ता पार्टी सदस्य बन्न बन्चित हुने भएका छन् । पार्टीले जेठ २१ गतेसम्म अद्यावधिक गर्ने समय तोकेको थियो । त्यसलाई बढाएर जेठ २८ सम्म थपिएको छ । बुधबारसम्म करिव ५५ प्रतिशतले मात्र अद्यावधिक गरेको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।
००००
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगलबाट प्रहरीले ४ सय ३० किलो गाँजा बरामद गरेको छ ।
बेवारिसे अवस्थामा फेला परेको गाँजासँगै एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको हो । बरामद गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ ।
००००
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कार्यभार सम्हालेको पहिलो दिनमै मन्त्रालयको जग बसाल्ने गरी केही महत्त्वपूर्ण र रणनीतिक निर्णयहरू गरेका छन् । कार्यभार सम्हापछि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना निर्णय र भावी योजनाहरू सार्वजनिक गर्दै उनले मन्त्रालयमा सबै कुरा शून्यबाट शुरू गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारेका छन् ।
मन्त्रालय चलाउन अन्य स्थापित मन्त्रालयहरूजस्तो संरचना र प्रशासनिक प्रबन्ध पहिल्यैदेखि तयारी अवस्थामा नरहेको उनले उल्लेख गरेका छन् ।
मन्त्रालयको कामकारबाहीलाई कानुनी दायरा र स्पष्ट मार्गनिर्देशन दिन सर्वप्रथम ुविज्ञान प्रविधि तथा नवप्रवर्तन ऐनु ल्याउने निर्णय गरिएको उनले जानकारी दिए । 
००००
नेपाल प्रहरीका ५०९ जना प्रहरी इन्सपेक्टरको एकैपटक सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार तलब भत्तासमेत असार महिनादेखि हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
००००
पूर्व फुटबलर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को उपाध्यक्ष नियुक्त भएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषदको निर्णय अनुसार बुधबार श्रेष्ठलाई राखेपको उपाध्यक्ष नियुक्त गरेका हुन् ।
००००
लामो पर्खाइ र वर्षौँको तयारीपछि अन्ततः फुटबल प्रशंसकहरूका लागि प्रतीक्षित क्षण आइपुगेको छ । नेपाली समयानुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा शुरू हुँदै छ ।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठुलो र विशाल ुसुपरसाइज्डु विश्वकप हो । यस पटकको प्रतियोगितामा टोलीहरूको सङ्ख्या बढाएर ४८ पुर्‍याइएको छ । यी टोलीहरूले १६ वटा अत्याधुनिक रङ्गशालाहरूमा कूल १०४ वटा खेलहरू खेल्नेछन् ।
००००
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज को दिन मात्रै बाँकी रहेको छ। पार्टीका अनुसार आज जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिनेछ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अध्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरे ।
००००
स्वास्थ्य मन्त्रालयले ुलक्षित वर्ग निःशुल्क उपचार पोर्टल ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८३ु जारी गरेको छ । जसमा देशभरका सबै अस्पतालहरूमा विपन्न नागरिकका लागि १० प्रतिशत शय्या  निःशुल्क छुट्याउनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।
००००
बिमा दाबी गर्न र ग्राहकले धितो राखेको सुनचाँदी हिनामिना गर्ने उद्देश्यले आफ्नै पसलमा चोरीको नाटक गरेको आरोपमा बुटवलका एक सुनचाँदी व्यवसायी पक्राउ परेका छन्।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा जेठ १७ गते भएको भनिएको चोरी घटनाको अनुसन्धानका क्रममा पसल सञ्चालककै संलग्नता खुलेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो।
००००
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको जानकारी दिँदै भ्रमण तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ।
वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालै भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरेका थिए। भारत भ्रमणलगत्तै उनको चीन भ्रमणको तयारी थालिएको हो।
००००
प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल आगामी बैठकमा पनि जारी रहने भएको छ । सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त जानकारी गराए । बैठक बिहीबार पनि बस्दैछ ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले अब प्रधानमन्त्री सदनमा उपस्थित हुने कुराको कुनै गुन्जायस नरहेको बताएका छन् ।
प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति निन्दनीय, आपत्तिजनक र लज्जास्पद रहेको बताउँदै उनले यही विषयलाई लिएर निरन्तर सदन अवरोध भए पनि प्रधानमन्त्री वालेन्द्र ९बालेन० शाहले सदनलाई अटेर गरेको बताए ।
००००
नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड दिए ।
००००
सभामुखले बोल्नका लागि समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले आपत्ति जनाएका छन् ।
सभामुखले बुधबारको बैठकमा विपक्षी बेञ्चका सांसदहरूलाई बोल्न समय दिने क्रममा आफूहरूलाई छुटाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । उक्त पार्टीको विरोधपछि सभामुखले बोल्न समय दिएका थिए ।
००००
के सरकारी जागिर भनेको बिदा मिलाएर विदेश जाने र उतै बेपत्ता हुने सजिलो लाइसेन्स होरु
सुन्दा पत्याउन गाह्रो होला, तर नेपालका ६ हजारभन्दा बढी निजामती कर्मचारीहरू बिदा लिएर गएपछि स्वदेश फर्किए वा फर्किएनन् त्यसको आधिकारिक अभिलेख नै छैन ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अबको एक सातापछि अध्ययन बिदा लिएर विदेशमा हराएका कर्मचारीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।
००००
सांसद खुस्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले खुस्बुलाई बैठकभित्रै भेटेर कारबाही प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।
त्यसका लागि गुरुङले ओलीलाई प्रक्रियामा जान पनि आग्रह गरेका छन् । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतको इतिहासमै सबैभन्दा लामो समय नेतृत्व सम्हाल्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत बुधबार लामिछानेले मोदीको उपलब्धिलाई ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा दिँदै शुभकामना व्यक्त गरेका हुन्।
प्रधानमन्त्री मोदीले जुन १० मा भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको लगातार निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान उछिन्दै नयाँ रेकर्ड कायम गरेका छन्।
००००
सरकारले निजामती सेवा ऐनमा ठूलो परिवर्तन गर्न लागेको छ । संसद् वा अध्यादेशमार्फत् यो नयाँ व्यवस्था लागू भएमा तत्कालै १० हजारभन्दा बढी कर्मचारीहरू प्रभावित हुनेछन्, जसमा ५ हजार ४ सय ८२ जना निजामती कर्मचारीले त तुरुन्तै सेवाबाट हात धुनुपर्ने देखिन्छ ।
मुख्य सचिवदेखि खरिदारसम्मका विभिन्न तहका कतिजना कर्मचारीहरू घर जानुपर्ने हुन्छ रु
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय उच्च स्रोतका अनुसार, प्रस्तावित नयाँ निजामती विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५५ वर्ष वा ३० वर्षे सेवा अवधि लागू गर्ने प्रस्ताव गरिएको छ ।
यसको मतलब यदि कुनै कर्मचारीको उमेर ५५ वर्ष पुग्यो वा उसले सेवा गरेको ३० वर्ष पूरा भयो भने, दुईमध्ये जुन पहिले आउँछ, सोही आधारमा उसले अनिवार्य अवकाश पाउनेछ ।
यति मात्र होइन, पेन्सनको हकमा पनि नयाँ सीमा प्रस्ताव गरिएको छ, जसअनुसार अब ३० वर्षभन्दा बढी जागिर गरिसकेकाले पनि अधिकतम ३० वर्षको मात्र पेन्सन सुविधा पाउनेछन् । उदाहरणका लागि, यदि तपाईंले ३५ वर्ष सेवा गर्नुभएको छ भने पनि तपाईंले ३० वर्ष बराबरकै पेन्सन पाउनुहुनेछ, बाँकी ५ वर्षको कुनै हिसाब हुने छैन।


खगेन्द्र कार्की
प्रतिक्रिया