इटहरी । नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा प्रहरीले सुनसरीकी एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीकी सङ्गीता आचार्य रहेकी छन् । उनलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।प्रहरीका अनुसार आचार्यले काठमाडौँ महानगरपालिका–३१ ठूलो खरिबोटमा घर भाडामा लिई ‘विजडम हब इन्टरनेसनल प्रालि’ सञ्चालन गर्दै आएकी थिइन् । सो कम्पनीमार्फत स्याम्पु, साबुन, घिउकुमारीको सामान, हिमाली सिस्नु पाउडरलगायत विभिन्न वस्तु अत्यधिक मूल्यमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।त्यसैगरी, रोजगारीको आकर्षक अवसर र सुविधासहितको तलब उपलब्ध गराउने प्रलोभन देखाई सर्वसाधारणलाई अग्रिम रूपमा ठूलो रकम जम्मा गर्न लगाउने र नेटवर्क बनाई झुक्यानमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।ठगीपछि फरार रहेकी आचार्यलाई खोजी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी आचार्यविरुद्ध ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
१२ भदौ २०८३, शुक्रबार ०६:३५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो