विराटनगरमा आकाशे पुल अलपत्र, नेतृत्वलाई न चासो, न चिन्ता

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

विराटनगर । विराटनगरमा ३ वर्ष अगाडि नै काम सुरु भएको विराटनगर महानगरपालिकाको आकाशे पुल बनाउने २ करोड ४७ लाखको योजना अलपत्र मात्र परेन वेवास्ताको शिकार बनेको छ । 

खास गरेर नेपाली कांग्रेसका नेताहरुबीचको जुंगाको लडाईले सहरको सौन्दयैकरण दिने र जनतालाई आवतजापतमा सहज हुने आकाशे पुलको योजना खलपत्र परेको हो । अघिल्लो कार्यकालमा सुरु भएको आकाशे पुलको योजनाका विरुद्धमा त्यसबेला वर्तमान मेयर नागेस कोइराला नै भएको र आफूले विरोध गरेको योजना पुरा गर्न आफूलाई असहज ठानेको स्थानीयबासीको ठम्याई छ । महानगरको नयाँ नेतृत्वलाई त्यस विषयमा न चसो न नत चिन्ता कै कारण दुर्घटनाको जोखिम समेतबढ्दै गएको स्थानीयको राय छ । सो योजना निर्वाचन मुखी बनेको र सरोकारवालासँग समन्वय नगरी हतारोमा ल्याएको कारणले पनि अलपत्र परेको स्थानीयको बुझाई छ ।

विराटनगर–३ को कन्चनबारी चौकस्थित मुख्य राजमार्गका नालामा गज्जबका खाल्डा छन् । त्यस्तै खाल्डा बरगाछी र बसपार्क दक्षिण पाञ्चाली मोड नजिक छन् । तत्कालिन महानगरको नेतृत्वमा भीम पराजुली हुँदा कन्चनबारी, बरगाछी र रोडशेष चोक (पाञ्चाली मोड) मा आकाशे पुल निर्माणका लागि महानगरले तीन वर्ष अगाडि नै ठेक्का लगाएको थियो ।

ठेक्का लागेपछि काम धमाधम सुरु गरेका ठेकेदारले आकाशे पुलको बेस राख्न खाल्डो खनेका थिए । तर, तीनवर्षसम्म आकाशे पुल बन्न त सकेन पारिएका भ्वाङ्ग समेत पुरिएन । महानगरपालिकाले ठेक्का लगाएको तीन वटा आकाशे पुल निर्माणको काम उसै त अलपत्र परेको छ । महानगरपालिकाको नयाँ नेतृत्वमा नागेश कोइरालाको टिम आएपछि आकाशे पुल निर्माण गर्ने काममा खासै चासो छैन । तत्कालिन समयमा २ करोड ४७ लाख रुपैयाँको तीन वटा पुल निर्माणका योजना आगाडी सारिएको थियो ।

कन्चनबारी, बरगाछी र पाञ्चाली मोडका जग्गाधनीले नै आकाशे पुल निर्माणमा असन्तुष्टि जनाएपछि काम बढेको थिएन । त्यसबेला कन्चनबारीमा चुमनारायण तबदार, बरगाछीमा दिपक चापागाँई र पाञ्चाली मोडमा नागेश कोइरालाहरुको अब्जेक्सन थियो । यी तीनै नेता काँग्रेसका हुन् । त्यसमध्ये तबदार त्यसबेला प्रदेश सांसद, चापागाँई नेता (हाल नेपाली काँग्रेस महानगर सभापति)कोइराला काँग्रेस नेता (हाल विराटनगर महानगरपालिकाका मेयर) हुन् ।

तत्कालिन मेयरले ठेक्का लगाएपनि काम भने गराउन सकेनन् । उनले निर्वाचन लक्षित गरेर आकाशे पुलको काम थालेको जस बोक्नका लागि  खाल्डोसम्म खनाएका थिए । कन्चनबारीमा पुल निर्माणका लागि एकातर्फ जग बनाइएको छ । पाञ्चाली मोडमा जग बनाउनका लागि खाल्डो खनिएको छ । कन्चनबारीका स्थानीयले खाल्डोलाई ‘भीम भ्वाङ्ग’ भनेर नामाकरण गरिदिएका छन् । पराजुली महानगरको मेयरपछि प्रदेश सांसदमा निर्वाचित भएका छन् । तर, आफ्नै पालामा अनिएका खाल्डा पुर्न भने उनीपनि अहिले अगाडी सरेको देखिदैन ।

पाञ्चाली मोडमा निर्माण गर्ने भनिएको पुल निर्माण स्थल सुरुमा गुद्री बजारको घाँस चोक थियो । तर प्रदेश १ सरकारले घाँस चोकमा आकाशे पुल बनाउने योजना अगाडि सारेपछि महानगरले बसपार्कमा बनाउने योजना बनायो । बसपार्क जमिन नभएपछि वसपार्कबाट केहि दक्षिण पाञ्चाली मोडमा सारियो । तर, सार्नु अगाडी सम्बन्धित सरोकारवाला पक्षसँग कुनै कुरा गरेनन् ।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ फागुन १६ गते मा टेण्डर आह्वान गरेको थियो । २०७७ माघमा ठेक्का लाग्यो । त्यसको दुई महिना पछि २०७७ चैत २ गते तत्कालिन मेयर पराजुलीले बरगाछीमा पुलको शिलन्यास गरेका थिए ।

विराटनगर महानगरपालिकाका अनुसार बरगाछी चोक र पाञ्चाली मोडको आकाशे पुल निर्माणको ठेक्का कला बिल्डर्सले पाएको थियो । कन्चनबारी चोकको ठेक्का आरके बिल्डर्सले पाएको थियो । आकाशे पुलको जग कङक्रिट र बाकीँ संरचना स्टीलको बनाउने गरी पुलको डिजाइन गरिएको थियो ।

पुल निर्माणका लागि महानगरले जग बनाउन भन्दै कन्चनबारी र पाञ्चाली मोडको सडक छेउमा खनेको खाल्डो नपुर्दा दुर्घटनाको जोखिम छ । कन्चनबारीमा पानीको निकासमा समेत खाल्डो अवरोध हुने भन्दै स्थानीयले वर्षा सुरु अगावै व्यवस्थापन हुनुपर्ने माग गर्दै आएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया