चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु : गुट बढाउनेको गुन्जायस छैन : लामिछाने

खगेन्द्र कार्की

दमक / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार चितवनमा गर्न लागेको प्रथम राष्ट्रिय महाधिवेशनलाई लिएर देशभर राजनीतिक चासो चुलिएको छ । महाधिवेशनको तयारीसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ भने संगठनात्मक संरचना, आर्थिक व्यवस्थापन र राजनीतिक सन्देशले यसलाई पार्टीको इतिहासमै सबैभन्दा ठूलो शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।
जिल्ला सुरक्षा समितिका अनुसार महाधिवेशनस्थल भरतपुर र वरपरका क्षेत्रलाई उच्च सुरक्षा निगरानीमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ट्राफिक प्रहरीको संयुक्त सुरक्षा योजना लागू गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी रहनेछ भने आवश्यक परे थप जनशक्ति प्रदेश र केन्द्रबाट समेत परिचालन गरिनेछ ।
महाधिवेशनमा करिब ४ हजार २१० प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा ४० हजारभन्दा बढी समर्थक र शुभेच्छुक आउने अनुमान गरिएको छ । बागमती प्रदेशबाट सबैभन्दा बढी ७९० प्रतिनिधि सहभागी हुनेछन् भने कोशी प्रदेशबाट ५२० प्रतिनिधि आउने छन् । बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा र उद्घाटन सत्र ‘गेस्टहाउस चौर’ मा हुने तय गरिएको छ ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षा योजनाको सबैभन्दा संवेदनशील पक्ष मानिएको छ । नारायणी पुल क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ । पूर्वबाट आउने सवारीलाई साझा बसपार्क र पश्चिमबाट आउनेलाई वीरेन्द्र बहुमुखी क्याम्पस क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । करिब १,०८७ प्रहरी परिचालन हुनेछन्, जसमा १६५ ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा खटिनेछन् ।
आर्थिक व्यवस्थापनमा पनि रास्वपाले फरक शैली अपनाएको दाबी गरेको छ । प्रवक्ता मनिष झाले उद्योगी(व्यापारीबाट चन्दा नलिइ पार्टीकै आन्तरिक स्रोतबाट महाधिवेशन सञ्चालन गरिएको बताएका छन् । सांसद, केन्द्रीय सदस्य र प्रतिनिधिबाट लेवी संकलन गरी करिब चार करोड रुपैयाँ खर्च व्यवस्थापन गरिएको दाबी गरिएको छ ।
महाधिवेशनमा देशका प्रमुख दलका शीर्ष नेताहरू भने अनुपस्थित रहने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल 
पार्टीमा....दाहाल ‘प्रचण्ड’ र धरानका मेयर हर्क साम्पाङ सहभागी नहुने निश्चित भएको छ । यद्यपि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
सभापति रवि लामिछानेले महाधिवेशनलाई पार्टीको संस्थागत सुधारको अवसर भन्दै आन्तरिक लोकतन्त्र मजबुत बनाउन जोड दिएका छन् । उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहन कार्यकर्तालाई निर्देशन दिँदै लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन महाधिवेशन अपरिहार्य भएको बताएका छन् ।
सुरक्षा, संगठन र राजनीतिक सन्देश(यी तीनै पक्ष मिसिएको रास्वपाको यो महाधिवेशन केवल पार्टी कार्यक्रम मात्र नभई राष्ट्रिय राजनीतिक मञ्चमा आफ्नो उपस्थिति सुदृढ गर्ने रणनीतिक प्रयासका रूपमा देखिएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया