इटहरी । डिजेबाजा बजाउने विषयमा सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव क्रमशः मत्थर हुँदै तराई–मधेशको जनजीवन शुक्रबारदेखि सामान्य बन्दै गएको छ। मृतकका परिवारसँग सरकारको सातबुँदे सहमति, सुरक्षा व्यवस्था कडा बनाइनु र राजनीतिक तथा धार्मिक तहबाट सद्भावका लागि पहल तीव्र भएसँगै प्रभावित क्षेत्रमा स्थिति सुधारोन्मुख भएको हो।
सुनसरीको कप्तानगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवकका परिवारसँग गृहमन्त्री सुधन गुरुङले सातबुँदे सम्झौता गरेपछि आफन्तले शुक्रबार शव बुझेर दाहसंस्कार गरेका छन्। सम्झौताअनुसार मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ राहत, एक सदस्यलाई रोजगारी तथा घटनाको छानबिन गरी दोषीमाथि कारबाही गरिने सहमति भएको छ। स्थानीय देवानगन्ज गाउँपालिका र कोशी प्रदेश सरकारले पनि राहत तथा क्षतिपूर्ति दिने घोषणा गरेका छन्। सिराहाको गोलबजारमा मृत्यु भएका किशोरका परिवारसँग पनि यस्तै प्रकृतिको सहमति गर्ने सरकारी तयारी भइरहेको छ।
साम्प्रदायिक सद्भाव कायम राख्न सुरक्षा संयन्त्रले निगरानी बढाएको छ। प्रहरी प्रधान कार्यालयले चार अतिरिक्त महानिरीक्षक ९एआईजी० सहित १५ जना उच्च अधिकारीलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ। साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा धनुषा, सर्लाही, सिराहा, महोत्तरी र पर्साबाट ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका सबै स्थानीय तहलाई सातबुँदे निर्देशन जारी गर्दै वडा तहसम्म राजनीतिक दललाई संवादमा सक्रिय गराउने र संवेदनशील विषय जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरण गरेर समाधान गर्ने रणनीति अघि बढाएको जनाएको छ।
घटनापछि राजनीतिक तथा सामाजिक तहमा पनि संवाद बढेको छ। सरकारले घटनामा मृतक वा घाइते परिवारसँग मात्र सम्झौता गरेको छैन, उक्त घटना सामान्य बनाउन विभिन्न धार्मिक संघसंस्थाहरुसँग समेत सम्झौता गरेको छ । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा १३ बुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। वार्तामा आन्दोलनरत हिन्दू सम्राट सेनालगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै १३ बुँदे मागपत्र पेस गरेको थियो। सोही मागपत्रका आधारमा सहमति भएको जनाएको छ। यसैगरी मुस्लिम समुदायसँग पनि छुट्टाछुट्टै कुराकानी, छलफल र सहमतिसहित सद्भावका लागि आब्ह्वान, सद्भाव ¥याली जस्ता विषय अगाडि सारिएका छन् ।काठमाडौँमा हिन्दु र मुस्लिम धार्मिक अगुवाले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। विराटनगर, सिराहा र सप्तरीलगायत स्थानमा ‘सबै धर्म–समुदाय आपसमे सब भाइ–भाइ’ नारासहित सद्भाव र्याली निकालिएको छ।
सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा सर्वदलीय छलफल गराएपछि सरकारले लिएको रफ्तार बढेपछि समस्या न्युनिकरणमा सहज भएको थियो । त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ तथा प्रमुख राजनीतिक दलले संवादलाई तीव्र बनाएका छन्। मधेशकेन्द्रित दलका नेता महन्थ ठाकुर, डा। सिके राउत, राजेन्द्र महतो र प्रभु साहलगायतले प्रधानमन्त्रीलाई भेटेर निष्पक्ष छानबिन र दीर्घकालीन शान्तिको माग गर्दै आठबुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्। भेटमा डा. राउतले प्रत्येक जिल्लामा अन्तर्धार्मिक संवाद संयन्त्र गठन गर्न सुझाव दिएका थिए। संघीयता खारेजीबारे उठेको चर्चाप्रति प्रधानमन्त्री शाहले आफू संघीयताको विरोधी नरहेको र मुलुक विद्यमान संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने स्पष्ट पारेका छन्।
गत आइतबार साँझ सुनसरीको कप्तानगन्जमा साउने सोमबारको पूजाको तयारीका क्रममा डिजेबाजा बजाउने विषयमा दुई समूहका युवाबीच भएको विवाद उग्र बनेपछि साम्प्रदायिक तनाव फैलिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो। सिराहाको गोलबजारमा १७ वर्षीय गणेश यादवको पनि ज्यान गएको थियो। घटनामा घाइते भएका अन्य सात जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो