ज्योति शर्मा, उर्लाबारीमोरङको उर्लाबारी नगरपालिका–३ र पथरीशनिश्चरे नगरपालिका–२ को सिमानामा पर्ने सुनझोडा खोलामा निर्माणाधीन मोटरेवल पुल अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ । वर्षौंदेखि ज्यानकै जोखिम मोलेर खोला तर्न बाध्य नागरिक अब सुरक्षित र सहज आवतजावतको आशामा छन् ।सुनझोडा खोला यस क्षेत्रका नागरिकका लागि वर्षायाममा विशेष त्रासको विषय बन्दै आएको थियो । विद्यालय जाने विद्यार्थी, बिरामी बोकेर अस्पताल पुग्ने परिवार, किसान तथा दैनिक कामकाजमा हिँड्ने सर्वसाधारणले खोलामा आउने बाढीका कारण पटक–पटक सास्ती खेप्दै आएका थिए । कतिपय अवस्थामा खोला तर्दा दुर्घटनाको जोखिमसमेत रहने भएकाले परिवारका सदस्य घरबाट निस्कँदा सकुशल फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ता स्थानीयमा रहने गरेको थियो ।स्थानीयवासीका अनुसार प्रत्येक चुनावमा पुल निर्माणको मुद्दा प्रमुख एजेण्डा बन्ने गरे पनि काम भने अघि बढ्न सकेको थिएन । पटक–पटक योजना बनेर पनि अलपत्र पर्ने अवस्थाका बीच गत वर्षदेखि भने निर्माणले तीव्रता पाएको हो । मोरङ क्षेत्र नं। १ का संघीय सांसद तथा पूर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बू र मोरङ क्षेत्र नं। ३ का सांसद डा। सुनिल शर्माको सक्रिय चासोपछि पुल निर्माण प्रक्रिया अघि बढेको स्थानीय पूर्व जनप्रतिनिधि पारशमणि कुईकेल बताउँछन् । गत वर्ष जेठ १७ गते शिलान्यास गरिएको पुलको निर्माण अवधि २०८३ चैत मसान्तसम्म तोकिए पनि निर्माण कम्पनीले निर्धारित समयभन्दा निकै अगावै काम सम्पन्न गर्ने तयारी गरेको छ । कुइँकेलले लामो समयदेखिको जनअपेक्षा पूरा हुने चरणमा पुगेको भन्दै दुवै सांसद र निर्माण पक्षलाई धन्यवाद दिएका छन् । उनका अनुसार पुल निर्माणले दुई नगरपालिकाबीचको सम्बन्ध मात्र नभई आर्थिक तथा सामाजिक गतिविधिसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।निर्माण पक्षका प्रतिनिधि दिलिपकुमार कर्णका अनुसार पुलको करिब ८५ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ । अहिले दुवैतर्फ माटो पुर्ने, पाइप रेलिङ जडान गर्ने लगायतका अन्तिम चरणका काम भइरहेको र केही दिनभित्रै सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी रहेको उनले जानकारी दिए ।स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीका इञ्जिनियर थिरेन्द्र दाहालका अनुसार पुल ३० मिटर लामो रहेको छ । पुलको बीच भागमा ६ मिटर चौडाइको सवारी आवागमन मार्ग रहनेछ भने दुवैतर्फ पैदलयात्री हिँड्न मिल्ने संरचना बनाइएको छ । प्रारम्भिक लागत अनुमान ८ करोड ३० लाख रुपैयाँ रहेको पुल प्रतिस्पर्धात्मक टेण्डर प्रक्रियामार्फत ५ करोड ६८ लाख ९३ हजार ८ सय ५५ रुपैयाँ ७७ पैसामा निर्माण भइरहेको हो । निर्माणको जिम्मा विराटनगरस्थित कार्की बन्धु कन्स्ट्रक्सन प्रा।लि।ले पाएको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
२७ बैशाख २०८३, अाईतबार ०२:१४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो