फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
बराहक्षेत्र (चतरा) । ऋषिहरुको तपोभुमि हरिद्धार चतरामा २०८० सालको अन्त्यमा लगाई १ महिने कुम्भ मेलाको विषयमा छलफल सुरु भएको छ । ४ वटा कुम्भ मेला लगाई सकेको स्थान चतरामा लाग्ने कुम्भ मेलाका सन्दर्भमा राज्य बेखबर भएका गुनासा आइरहँदा यस पटक भने बेलैदेखि त्यस विषयमा छलफल सुरु भएको हो । भारतमा लाग्ने कुम्भ मेलाको सम्पूर्ण तयारी राज्यले जिम्मा लिईरहेको सन्दर्भमा चतराको यो कुम्भ मेला पनि राष्ट्रिय रुपमा तयारी हुनुपर्ने धर्मअनुरागीहरुको माग छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले देशकै मेरुदण्डको रुपमा अबको कुम्भ मेला आयोजना गर्ने गरी तयारी गर्नुपर्ने देखिन्छ । यहि सन्दर्भमा छलफल सुरु भएको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाम कुम्भ नगरी अर्थात कुम्भ मेलाको राजधानीको रूपमा परिचित स्थानमा आगामी २०८० साल चैत्र २६ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना चतराधाममा पूर्ण महाकुम्भ मेला महोत्सव आयोजना गर्ने विषयमा छलफल सुरु भएको हो । उक्त कुम्भ मेला आयोजना गर्ने विषयमा बुधवार कुम्भ मेला स्थल चतराधाममा कुम्भ मेलाका परिकल्पनाकार जगद गुरु बालसन्त मोहन शरण, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, स्थानीय वडाध्यक्ष, स्थानीय बुद्धिजीवीका बिच सुरुवाती छलफल गरिएको छ ।
छलफलबाट २०८० चैत्र २६ गतेबाट हुने कुम्भ मेलाको शुभारम्भ कालागि यही चैत्रबाट प्रचारात्मक कार्यक्रम गर्ने, माथिल्ला निकायहरूसँग समन्वय र सहयोगका लागि सहजीकरण गर्ने, नियमित सरसफाइको व्यवस्थापन गर्ने, आवश्यक भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिने निर्णय गरिएको प्रथम जगद गुरु पीठ चतराधामका सचिव उद्भव घिमिरेले जानकारी दिए ।
मेलालाई व्यवस्थित तथा भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । चतराधाम कुम्भको राजधानी भएकाले यहाँ लाग्ने कुम्भ मेलाको प्रचारप्रसार र व्यवस्थापनलाई प्राथमिकताका साथ राखेर काम गर्ने कार्कीको भनाई छ। नगर प्रमुख कार्कीका अनुसार २०८० सालमा लाग्ने कुम्भ मेलाको प्रचारप्रसार गर्ने यही वर्षको चैत्र देखिनै प्रचारात्मक कार्यक्रम गरिने छ ।
कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद गुरु वालसन्त मोहन शरणले बताउँछन् । भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएका छन् । अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ(जहाँ अमृत खस्यो खस्यो त्यहाँ(त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ। भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको भनेर शास्त्रमा उल्लेख छ ।
नेपालमा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात चैत्र ६ गते देखि वैशाख शुक्ल तृतिया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो । जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।
चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ।
खगेन्द्र कार्की
२६ फाल्गुण २०७९, शुक्रबार १२:१९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो