काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी तथा पहिरो प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भोटेकोशी बाढीको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित परिवारको साथमा सरकार रहेको बताएका हुन्।प्रधानमन्त्री शाहका अनुसार रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी खटिएका छन्।हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टरबाट ९९ हवाई उडान गरिएको छ। धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको छ।प्रभावित क्षेत्रमा ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको छ। सुरुङमा फसेका नागरिक तथा कामदारको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको प्रधानमन्त्रीको भनाइ छ।यसैबीच, प्रभावित क्षेत्रमा सडक, विद्युत्, दूरसञ्चार र खानेपानी सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ। प्रभावित १९८ दूरसञ्चार साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन् भने नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ।बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई राहत, उद्धार तथा व्यवस्थापनका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा एक अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको प्रधानमन्त्री शाहले बताएका छन्।प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निगरानी भइरहेको भन्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। सम्भावित जोखिमबारे हालसम्म दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना पठाइएको उनले जानकारी दिएका छन्।
१२ भदौ २०८३, शुक्रबार १०:३५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो