पूर्वराजा ज्ञानेन्द्र बोल्दैमा किन डराउँछन दलहरु ? पक्षधरहरु उत्साहित

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । राजाका पक्षधरहरु अब राजा सक्रिय हुने भए भनेर उत्साहित बनेका छन भने अर्कोतिर राजा फ्याकेर राज्यको बागडोर सम्हालिरहेकाहरुलाई त्रसित बनाएको छ । खास गरेर दुई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तालाई उत्साहित बनाएको छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई त्रसित र आशंकित बनाएको छ । 

ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तनलाई मास्न खोजिएको टिप्पणी गरेका छन् ।  उनले २०६२÷०६३ को जनआन्दोलनपछि राजसंस्था हटाएर राजनीतिक परिवर्तन सफल भएको भएपनि केही शक्तिहरू फेरि पञ्चायती भूत उठाउने प्रयास गरिरहेको बताएका छन् । उनले कार्यकर्तालाई राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउन तयार हुन समेत भनेका छन् । यसैगरी पूर्व राजाको उक्त सन्देशले राजाको पक्षमा लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता, कार्यकर्ता भने उत्साहित देखिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेपछि राजावादीमा खुसियाली छाएको छ । राप्रपा, राप्रपा नेपालका नेताहरुले सामाजिक सञ्जालमार्फत आ–आफ्नो विचार अघि सार्न थालेका छन् ।

पूर्वराजाको सन्देशले अब राजतन्त्र पुनःस्थापनाका लागि निर्णायक संघर्ष हुने भन्दै फेरि एकपटक गोलबन्द हुनुपर्ने बताउन थालेका छन् । पूर्वराजाले आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका थिए ।

‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । नेपालको उन्नतिका लागि हामीबाट अरु के के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं,’ पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भनेका छन् ।

पूर्व राजाको सो सन्देशपछि एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि पूर्वराजा र जनताबिच साझेदारीको आवश्यकता रहेको बताएका छन् । बुधबार प्रजातन्त्र दिवसको अवसरमा राप्रपा नेपाल राजनीतिक विभागले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘राजाको यति मात्रै चाहना रहेको छ। देश र जनतालाई बचाउन फेरि एकपटक राजा र जनताबिचमा साझेदारी आवश्यक छ। राजाले फेरि निरंकुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन। राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु।’

यसपटकको वक्तव्यमा उनले मूर्तरूपमै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको हो । राप्रपा महामन्त्री धवलशमशेर राणाले पूर्वराजाको कदमलाई आफ्नो दलले पूर्ण समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् । ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त जो जहाँ छौं त्यतै स्थानमा रहनका साथै तयारी अबस्थामा रहन अनुरोध गर्दछौं । यो सन्देश सबैमा पु¥याउन अपील गर्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं । यसको छिनोफानो हुनैपर्छ ।’ शाहीले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने बताएका छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया