प्रेस युनियन झापाको निर्वाचनमा कांग्रेस हस्तक्षेप, मतदान स्थगित

खगेन्द्र कार्की

दमक । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियन झापाको जिल्ला अधिवेशनमा पार्टी नेतृत्वको दबाबपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ। अधिकांश पदमा निर्विरोध नेतृत्व चयन भइसकेको र बाँकी तीन पदमा निर्वाचनका लागि औपचारिक तालिकासमेत सार्वजनिक भइसकेको अवस्थामा कांग्रेस नेताहरूको हस्तक्षेपपछि मतदान रोकिएको हो।
दमकमा शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्ष, खुला उपाध्यक्ष र एक सहसचिवबाहेक कार्यसमितिका अधिकांश पदमा निर्विरोध चयन भइसकेको थियो। निर्विरोध हुन नसकेका तीन पदमा आइतबार मतदान गर्ने गरी निर्वाचन समितिले शनिबार नै कार्यक्रम सार्वजनिक गरेको थियो।
निर्वाचन समितिले लक्ष्मीप्रसाद लुईटेलको संयोजकत्वमा मध्यान्ह १२ बजे मतदाता नामावली प्रकाशन गरी दिउँसो ३ः१५ देखि ५ बजेसम्म मतदान गर्ने तालिका सार्वजनिक गरेको थियो। तर, मतदान सुरु हुनुअघि नै निर्वाचन कार्यक्रम स्थगित गरिएको हो।
कांग्रेस नेताहरूले आफूहरूले चाहेको उम्मेदवारका पक्षमा सहमति गराउन पार्टी कार्यालय बिर्तामोडमा छलफल गर्ने भन्दै निर्वाचन रोक्न दबाब दिएको बताइएको छ। त्यसपछि आइतबार दिउँसो १ बजेपछि मात्र मतदानको नयाँ समय तोकिएको छ।
प्रेस युनियन कांग्रेसनिकट पेशागत संगठन भए पनि श्रमजीवी पत्रकारहरूको साझा संस्था भएकाले पार्टीको प्रत्यक्ष हस्तक्षेपप्रति युनियन आबद्ध पत्रकारहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले संगठनको आन्तरिक निर्वाचनमा राजनीतिक नेतृत्वले हस्तक्षेप नगरी पत्रकारहरूलाई स्वतन्त्र रूपमा नेतृत्व चयन गर्न दिनुपर्ने माग गर्दै आएका छन्।
अध्यक्षमा गौतम र राजवंशीबीच प्रतिस्पर्धा
अध्यक्ष पदमा राजेन्द्र गौतम र अर्जुन राजवंशीबीच प्रतिस्पर्धा हुँदैछ। गौतम केही महिनाअघि मात्र प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित भएका थिए भने राजवंशी युनियन झापाका जिल्ला सचिव हुन्।
खुला उपाध्यक्षमा ईश्वर अधिकारी र विष्णु पौडेल प्रतिस्पर्धामा छन्। त्यस्तै, एक सहसचिव पदका लागि केशव भण्डारी, तुलसी निरौला र कौशल भण्डारी चुनावी मैदानमा छन्।
यसअघि नै समावेशी उपाध्यक्षमा सेसेहाङ फियाक, महिला उपाध्यक्षमा शुष्मा राजवंशी, सचिवमा सुरेन्द्र भण्डारी र कोषाध्यक्षमा देवेन्द्र प्रसाईं निर्विरोध निर्वाचित भइसकेका छन्।
महिला सदस्यतर्फ अनुषा चुडाल, नानु गिरी, सेविका शर्मा र रञ्जिता खड्का निर्विरोध भएका छन्। समावेशी सदस्यमा रणदेव हजाम, विष्णु श्रेष्ठ र दीपक मित्तल तथा खुला सदस्यमा देवीचन्द्र बास्तोला र बरतलाल राजवंशी पनि निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समिति अनुसार ती पदमा तोकिएको संख्याअनुसार मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्।
‘संकटमा सबै मिलेर सरकारलाई साथ दिनुपर्छ’ — शिवाकोटी
अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधीर शिवाकोटीले मुलुक संकटमा परेका बेला सरकार पक्ष र प्रतिपक्ष नभनी सबैले साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताएका थिए।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै शिवाकोटीले विपद्को समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्दै मानवीय भावना प्रदर्शन गर्नुपर्ने बताए। उनले सञ्चारकर्मीलाई पनि उच्च मनोबलका साथ देश र जनताको हितमा कलम चलाउन आग्रह गरे।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले कांग्रेस अहिले एकता र विभाजनको दोसाँधमा रहेको भन्दै पार्टी निकट संगठनका अधिवेशनले एकताको पक्षमा दबाब सिर्जना गर्नुपर्ने बताए। उनले झापाबाट एकताको सन्देश दिने गरी प्रेस युनियनको अधिवेशन सम्पन्न गर्न आग्रह गरे।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पछिल्लो समय पत्रकारितामाथि विभिन्न प्रश्न उठ्ने गरेको भन्दै सामाजिक सञ्जाल र व्यावसायिक पत्रकारितालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए। उनले पत्रकारको सीप तथा क्षमता अभिवृद्धिसँगै पत्रकार अक्षय कोषलाई पनि विस्तार गर्दै लगिएको जानकारी दिए।
अधिवेशनमा कांग्रेस झापाका सभापति देउमान थेवे, केन्द्रीय सदस्य सुरेश सुब्बा, प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, केन्द्रीय सचिव रेजिना गौतम, प्रेस सेन्टर कोशी प्रदेशका सचिव डिकेश लामा, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदितलगायतले धारणा राखेका थिए।
अधिवेशनको अध्यक्षता युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईले गरेका थिए भने सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए। भट्टराईले आफ्नो कार्यकालमा भएका कमी–कमजोरी आगामी दिनमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
तीन पत्रकार सम्मानित
अधिवेशनका अवसरमा तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
युनियनले यस वर्षदेखि प्रदान गर्न सुरु गरेको खगेन्द्र पौडेल स्मृति पुरस्कार पत्रकार आत्मराम राजवंशीलाई प्रदान गरिएको छ। यसैगरी खगेन्द्र कार्की स्मृति अग्रज पत्रकारिता पुरस्कार पत्रकार लीला अनमोललाई र खगेन्द्र कार्की क्रियाशील पत्रकारिता पुरस्कार युवा पत्रकार सन्तोष विष्टलाई प्रदान गरिएको हो।
सम्मानित तीनै जना पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि सुधीर शिवाकोटीले सम्मानपत्र तथा पुरस्कार प्रदान गरेका थिए।
यता, अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगे पनि बाँकी तीन पदको निर्वाचनमा भएको स्थगनले भने प्रेस युनियन झापाभित्रको आन्तरिक लोकतन्त्र र पार्टी हस्तक्षेपको विषयलाई फेरि बहसमा ल्याएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया