२३औँ राष्ट्रिय धान दिवस मनाइयो, आत्मनिर्भरता अझै टाढा; अर्बौंको धान, चामल र बीउ आयात
खगेन्द्र कार्की
१५ असार २०८३, सोमबार ०६:४७ मा प्रकाशित
2421
इटहरी । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ आइतबार देशभर २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व मनाइए पनि नेपाल धान, चामल र बीउमा अझै परनिर्भर रहेको तथ्यांकले देखाएको छ।
भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा मात्रै १८ अर्ब ९५ करोड २४ लाख रुपैयाँको चामल, १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँको धान र १ अर्ब २९ करोड ९४ लाख रुपैयाँको धानको बीउ आयात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा भने करिब ४० अर्ब १८ करोड रुपैयाँ बराबरको धान, चामल र बीउ विदेशबाट भित्रिएको थियो।
सरकारले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको दाबी गरे पनि सोही वर्ष ठूलो परिमाणमा आयात हुनुले उत्पादन र उपभोगको तथ्यांकमाथि प्रश्न उठाएको छ। कृषि मन्त्रालयका अनुसार नेपालमा प्रतिव्यक्ति वार्षिक १३८ किलोग्राम चामल खपत हुने गरेको छ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले भने उत्पादनको सरकारी तथ्यांक विश्वसनीय रहेको दाबी गर्दै आयात बढ्नुमा व्यापारीको पूर्वभण्डारण, मदिरा उद्योगलगायत औद्योगिक प्रयोग तथा भन्सार विवरणका प्राविधिक कारण पनि जिम्मेवार रहेको बताए।
यसैबीच, धानको बीउमा समेत परनिर्भरता बढ्दो छ। आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ६३ लाख रुपैयाँको बीउ आयात भएकोमा २०८०/८१ मा ८८ करोड ६६ लाख र २०८१/८२ मा १ अर्ब १६ करोड ६६ लाख रुपैयाँ बराबरको बीउ आयात भएको सरकारी तथ्यांक छ। इतिहासमै सबैभन्दा धेरै आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब १७ करोड ३८ लाख रुपैयाँभन्दा बढीको धानको बीउ आयात गरिएको थियो।
विशेषज्ञहरूका अनुसार चिनियाँ र भारतीय हाइब्रिड बीउको बढ्दो प्रयोगले नेपाली रैथाने धानका जात लोप हुने जोखिम बढाएको छ। यसले खेतीको लागत बढ्नुका साथै जलवायु परिवर्तन र रोग–कीराप्रतिको संवेदनशीलता पनि बढाएको उनीहरूको भनाइ छ।
सिँचाइ, गुणस्तरीय बीउ र कृषि नीतिमा सुधार नहुँदासम्म धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्य चुनौतीपूर्ण रहने देखिएको छ।